अब ब्याजदर घट्दै जान्छ, बैंकले प्रिमियम घटाउन थालिसके : अध्यक्ष केसी
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्दै जाने बताएका छन् । बैंकर्स संघको आयोजनामा सोमबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले बैंकको ब्याजदर क्रमशः घट्दै जाने बताएका हुन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका केसीले बैंकहरुको खराब कर्जा बढेका कारण पहिलो त्रैमासमा १६ अर्ब रुपैयाँ प्रोभिजन गर्नु परेको बताए । जबकी गत वर्षको सोही अवधिमा ७ अर्ब रुपैयाँ मात्रै प्रोभिजन गरेका थिए । विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदरका कारण १३ बैंकको नाफा घटेको उनको भनाइ छ । ‘बैंकहरुको रिकभरी नहुँदा खराब कर्जा बढेको छ, गत वर्ष ७ अर्ब मात्रै प्रोभिजन गरेकोमा यस वर्ष १६ अर्ब गर्नु परेको छ,’ उनले भने, ‘बैंकहरुले व्यवसाय पनि विस्तार गर्न सकेका छैनन्, विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदर, बिजनेस डाउन लगायत कारणले नाफामा प्रभाव परेको हो ।’ निजी क्षेत्रको ब्यापार व्यवसाय सुस्ताएका कारण त्यसको प्रभाव स्वतः बैंकहरुमा परेको उनको भनाइ छ । पछिल्लो समय बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन बढाएर ८४ अर्ब रुपैयाँ कर्जा बढाएको उनको भनाइ छ । गत वर्ष बैंकहरुको औसत खराब कर्जा २.९८ प्रतिशत रहेकोमा बढेर असोज मसान्तसम्म खराब कर्जा ३.६१ प्रतिशत पुगेको उनले बताए । ‘बाहिरका देशहरुमा पनि खराब कर्जा धेरै बढेको देखिन्छ, अब कसरी सुधार गर्ने भनेर हामीले काम गरिरहेका छौं,’ उननले भने, ‘खराब कर्जा्प्ररति सजग बन्नु पर्छ तर डराउनु पर्ने अवस्था छैन ।’ हिमालयन बैंकका सीईओ अशोक राणाले पनि बैंकको ब्याजदर घट्दै जाने बताए । राष्ट्र बैंकको नीतिले ब्याजदरमा प्रभाव पारेको उनको भनाइ छ । ‘अब ब्याजदर घट्ने देखिन्छ, राष्ट्र बैंकको नीतिले ब्याजदरमा प्रभाव परिरहेको छ, तल जान सक्छ माथि जाने सम्भावना छैन,’ उनले भने । उनका अनुसार बैंकहरुले रिकभरीमा बढी प्राथमिकता दिएका छन् ।
एशिएन बैंकर संघको सम्मेलन कात्तिक २३ र २४ गते काठमाडौंमा
काठमाडौं । एशिएन बैंकर एसोशिएसनले काठमाडौंमा दुई दिने सम्मेलन गर्ने भएको छ । नेपाल बैंकर संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कात्तिक २३ र २४ गते ‘रोडम्याप फोर रिकभरी एशिएन बैंकिङ इण्डष्ट्री’ विषयमा सम्मेलन गर्ने जानकारी दिएको हो । उक्त सम्मेलन बिहान साढे ८ बजेदेखि सुरु हुने छ । सम्मेलनमा बैंकिङ्ग क्षेत्रको अबको बाटो, डिजिटल ट्रान्सफोर्मेसन, वातावरणीय, सामाजिक गभर्नेन्स विषयमा छलफल हुने छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सम्मेलन आयोजनाको तयारी भइरहेको बताएको छ । सम्मेलनमा एशिया क्षेत्रका बैंकरहरुको उपस्थिती रहने छ । एशियन बैंकर्स संघको केन्द्रीय कार्यालय ताइवानमा छ । यस संघको २५ देशमा ६० सदस्य रहेका छन् । यस संघमा एशिया क्षेत्रका मात्रै बैंकहरु सदस्य रहन्छन् ।
एनआईसी एशिया बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग प्रदान गरेको छ । उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज हस्तान्तरण गरेका छन् । गत शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो । एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।