निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्यो ११३ जना ऋणी र जमानीकर्ताको तीन पुस्ते

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने ११३ जना ऋणीको नाम सार्वजनिक गरेको छ । लघुवित्तले समयमै ऋण नतिर्ने ११३ जना ऋणीको नाम सार्वजनिक गरेको हो । लघुवित्तका अनुसार धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले लिएको ऋण कर्जाको साँवा ब्याज लगायत अन्य रकमसमेत समयमा तिर्नु पर्ने हो । तर, उक्त रकम नतिरी कर्जा सम्बन्धी सर्त बन्देज उल्लङ्घन गरेकाले पटकपटक ताकेता गर्दा समेत भुक्तानी गर्न चासो नदेखाई बेवास्ता गरेकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको लघुवित्तले जनाएको छ । सूचना प्रकाशित भएको ३५ दिनभित्र यस लघुवित्तमा सम्पर्क राखि साँवा ब्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न लघुवित्तले अनुरोध गरेको छ । यदि नतिरेको खण्डमा प्रचलित ऐन, कानून तथा यस लघुवित्तसँग गरेको लिखत बमोजिम ऋणी तथा जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने लघुवित्तले जनाएको छ । साथै धितोमा रहेका वा नरहेको चलअचल सम्पत्ति लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी लघुवित्त संस्थाको आफ्नो लेना रकम असुल उपर गरिने सूचनामा उल्लेख छ ।

निफ्रा बैंकले पनि घटायो निक्षेपको ब्याजदर

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २८ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार ५ वर्षभन्दा माथिको शुभ पुर्वाधार खातामा संस्थागततर्फ ७.२५ प्रतिशत र व्यक्तिगततर्फ ९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि सोही खातामा बैंकले संस्थागतलाई ८.१५ प्रतिशत र व्यक्तिलाई १० प्रतिशत ब्याज दिइरहेको थियो । यस्तै कर्जातर्फ भने बैंकले प्रोजेक्ट लोनमा ११ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याजदर लिने भएको छ । यस्तै, ब्रिज ग्याप लोनमा भने प्रोजेक्ट लोनको भन्दा ०.५ प्रतिशत बढी ब्याज लिने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर, आजदेखि लागू हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २८ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.३० प्रतिशतदेखि अधिकतम ६.३० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । बैंकले महालक्ष्मी डलर बचत खातामा ३.२८ प्रतिशत र कल डिपिोजिटमा २.१५ प्रतिशत तोकेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो भने महालक्ष्मी डलर बचतमा ३.२८ प्रतिशत र कल डिपिोजिटमा २.२० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.३० प्रतिशत र ब्यक्तिगततर्फ ९.३० प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने रेमिट्यान्स मुद्दतीमा १०.३० प्रतिशत तोकेको छ । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.४० प्रतिशत र ब्यक्तिगततर्फ ९.४० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो भने रेमिट्यान्स मुद्दती खातामा १०.४० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।