कुमारी बैंकको ऋणपत्र सूचीकृत, भोलिदेखि कारोबार गर्न सकिने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ५० लाख थान ऋणपत्र मंसिर २७ गते नेप्सेमा सूचीकृत भएको हो । बैंकको १० प्रतिशत केबिएल डिबेञ्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै मंसिर २८ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सूचीकृत, न्यूनतम रेञ्ज ७६.८१ रुपैयाँ
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको सेयर भोलि अर्थात बिहीबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि नेप्सेले प्रतिकित्ता सेयर न्यूनतम ७६.८१ रुपैयाँदेखि अधिकतम २३०.४३ रुपैयाँसम्मको रेञ्ज तोकिदिएको छ । यससँगै बजारमा कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ । जसको स्टक सिम्बोल भने ‘एमकेसीएल’ दिइएको छ । यससँगै कम्पनीले सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटीएस सेवा नक्सालमा रहेको मुक्तिनाथ क्यापिटल मार्फत हुने छ ।
श्री इन्भेष्टमेन्ट फाइनान्सले घोषणा गर्यो लाभांश, ५ प्रतिशत नगद लाभांश
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो । संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सो मात्राको नगद लाभांश वितरण गर्न लागेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । हाल संस्थाको चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार रुपैयाँ छ ।