कृषि विकास बैंक र ॐ हस्पिटलबीच सम्झौता

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा भएको सम्झौता कार्यक्रममा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा बैंकका खातावाल ग्राहकहरुलाई हस्पिटलको ओपिडी सेवाका विभिन्न जाँचहरु, अन्तरङ्ग शैय्या शुल्क, रेडियोलोजी अन्तर्गतका अल्ट्रासाउण्ड, सिटीस्क्यान, म्यामोग्राफी लगायतका समपूर्ण जाँच तथा परिक्षणहरु, प्रयोगशालाका विभिन्न परिक्षणहरु, सबै किसिमका शल्यक्रिया, इण्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच, इसिजी, एको, इएमजी, पिएफटी, फार्मेसी सेवा, डेन्टल सेवा लगायतको अन्य उपचार सेवामा विशेष छुट दिने व्यवस्था मिलाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपालको निजि क्षेत्रको अग्रणी र प्रतिष्ठित स्वास्थ्य उपचार सेवा प्रदायक ॐ हस्पिटलमासँग सेवा व्यवसाय बिस्तार सम्झौता र बैंकका ग्राहकहरु तथा कर्मचारी र परिवारजनले उपचारमा सहुलियत पाउनु सकारात्मक भएको बताए । त्यसैगरी ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले तीन दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटलले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार सम्म र पेन मेडिसिन र कस्मेटोलोजीलगायत ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सहितको चिकित्सा सेवा उपलब्ध गराउँदै आइरहेको जिकिर गर्दै कृषि विकास बैंकसँग सेवाकालागि सहकार्यगरी अगाडि बढ्न पाउँदा खुशी लागेको बताए । २०२४ माघ ७ गते स्थापना भई २०४१ साल देखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कृषि विकास बैंकको हाल देशका ७ वटै प्रदेशका सबै ७७ वटै जिल्लामा २८३ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न जिल्लामा एक्सटेन्सन काउन्टरहरु र एटिएम मेसिनहरुबाट पनि सेवा उपलब्ध गराउँदै आएको छ । समयसँगै बढदो डिजिटल प्रयोगलाई ध्यानमा राख्दै बैंकले आफ्नो मुल व्यवसाय कर्जा प्रवाह र जमानतसहित अन्य सेवाहरुलाई पनि डिजिटलीकरण गर्दै लगेको छ । स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिओएस, क्युआर भुक्तानी, डेविट कार्ड, क्रेडिटकार्ड, एलसी, फरेक्स, अनलाइन एकाउण्ट, रेमिट, स्विफ्ट लगायत आफ्ना सबै सेवालाई डिजिटाइज गरी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । काठमाडौं रामशाहपथ स्थित कृषि विकास बैंक लिमिटेडको मुख्य कार्यालय भएको सम्झौता समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति रहेको थियो ।

यूनाइटेड अजोडको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । फागुन ८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

‘बैंकहरूसँग १८ खर्बसम्म तरल सम्पत्ति छ, आत्तिनु पर्दैन’

बनेपा । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्न सकिने अवस्था रहेको भन्दै  अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्था नदेखिएको बताए । बैंकहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसमेत गर्दा १७/१८ खर्ब तरल सम्पत्ति रहेकाले बैंकिङ प्रणालीमात्रै नभएर अहिले कुनै पनि बैंकमा समस्या नरहेको बताए । ‘बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन्, यसबाहेक सीआरआर र एसएलआर गरेर १७/१८ खर्ब तरल सम्पत्ति छ,’ उनले भने, ‘पछिल्लो समय बैंकहरू डुब्ने लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन् । तर, बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन ।’ यसबाहेक ५ लाखसम्मको निक्षेपको बीमा पनि हुने भएको भन्दै पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको उनले बताए । प्रायजसो बैंकहरू तरलता अभावका कारण डुब्ने अवस्था हुने भन्दै नेपालको सन्दर्भमा तरलताको हिसाबले बैंकहरू सबल अवस्था रहेको केसीले बताए । उनका अनुसार पछिल्लो १० वर्षको तुलनामा यतिबेला बैंकिङ प्रणालीमा तरलता सबैभन्दा सहज अवस्था पुगेको छ । ‘प्रायः बैंक क्षेत्र तरलताका कारण डुब्ने अवस्थामा पुग्छ, तर हामी एकदमै सबल अवस्थामा छौं,’ उनले भने, ‘अहिले बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ, २८ प्रतिशत खुद तरल सम्पत्ति छ, यसले बैंकहरू तरलताको आधारमा सुरक्षित रहेको देखाउँछ ।’ साथै, केही बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ८० प्रतिशत रहेको र केही बैंकको ७५/७६ को प्रतिशत हुँदा केहीको ८३/८४ प्रतिशत रहेको भन्दै उक्त अनुपात राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको तुलनमा धेरै सहज रहेको उनले बताए । सीडी रेसियो र तरल सम्पत्तिमात्रै नभएर नेपालका बैंकहरूको खुद निष्क्रिय कर्जा करिब डेढ प्रतिशत मात्रै रहेको उनले बताए । ‘दक्षिण एसियाको अन्य मुलुककको तुलनामा नेपालमा निष्क्रिय कर्जा न्यून छ, अन्य मुलुकमा जस्तै नेपालमा पनि केही बढे पनि नेपालको निष्क्रिय कर्जा अनुपात कम छ,’ उनले भने, ‘कर्जा नोक्सानी व्यवस्था पनि दक्षिण एसियाका अन्य देशको भन्दा बढी गरेका छौं, भारतमा निष्क्रिय कर्जा कोभिड पछिको तुलनामा केही घटे पनि नेपालको भन्दा बढी नै छ ।’ केसीले खराब कर्जा बढेको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरे । छिमेकी मुलुकको तुलनामा नेपालको बैंकिङ क्षेत्रको औसत एनपीएल धेरै कम रहेको उनको भनाइ छ । खराब कर्जा बढ्दा बैंकहरूले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) छुट्याइरहेका छन् । यतिबेला बैंकहरूले २ खर्ब १८ अर्ब यस्तो प्रोभिजन गरेको उनले बताए । खराब कर्जाबापत बैंकहरूले धेरै नै कर्जा नोक्सानी गरिसकेको हुँदा खराब कर्जा बढेको भनेर डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । तर, पछिल्लो समय बैंकको पैसा तिर्नु हुँदैन भन्ने हल्लाले बैंकिङ क्षेत्रमा समस्या आउन सक्ने केसीले जनाए । ‘केही व्यक्तिले बैंकबाट लिएको ऋण तिर्नु हुँदैन भनेर सडकबाट आवाज उठाएको अवस्था छ,’ उनले भने, ‘कसैले बोलेको भरमा ऋण नतिर्ने प्रवृत्तिले समग्र अर्थतन्त्रमा त्यसको प्रभाव पर्ने देखिन्छ ।’ उनले थपे, ‘एकातिर अन्य देशको तुलनामा नेपालमा सबैभन्दा कम एफडीआई आउने गर्छ, त्यसमा पनि बैंकहरूको कर्जा नतिर्नेलगायत क्रियाकलपाले समग्र सिस्टममा असर गर्छ ।’ त्यसकारण नेपालको बैंकिङ क्षेत्रलाई बचाउन आवश्यक रहेको उनको धारणा छ । यस्तै, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्षसमेत रहेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंकिङ सेक्टरमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेको बताए । ‘बैंकिङ क्षेत्र पारदर्शी छ, पारदर्शी रहेको बैंकिङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्योचित हुँदैन,’ उनले भने, ‘दक्षिण एसियामा नेपालको बैंकिङ क्षेत्र सबल छ । बेला–बेलामा आएका भूकम्प, नाकाबन्दी र कोभिडजस्ता समस्या पनि आए, त्यस्तो परिस्थितिमा केन्द्रीय बैंकले विभिन्न सहज गरिदिएको अवस्था थियो ।’ परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर परेका बेलामा गलत हल्ला फैलाएर बैंकिङ क्षेत्रमाथि प्रहार गर्नु कत्तिको उपयुक्त हुन्छ ? उनले प्रश्न गरे । यस्तो हल्ला चिर्न मिडिया र सरकारले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उनले देशको अर्थतन्त्रलाई सहयोग गर्ने बैंकिङ क्षेत्रलाई प्रहार गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने बताए । ‘अर्थतन्त्रका इन्डिकेटर तब राम्रो हुन्छ जब सबै क्षेत्रको मनोबल बढ्छ,’ उनले भने, ‘केही व्यक्तिको बैंक डुब्न लागेर भनेर हल्ला गर्दा सर्वसाधारणले बैंकबाट निक्षेप निकालेको अवस्था छ, यस्ता हल्लाले समग्र क्षेत्रको मनोबल गिराउने काम भएको छ ।’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले बैंकिङ संवेदनशील क्षेत्र रहेको हुँदा कसैले पनि व्यक्ति लक्षित भई सिस्टममाथि प्रहार गर्न नहुने धारणा राखे । अर्थतन्त्रको चार क्षेत्रमध्ये बैंकिङ एक हो । त्यसकारण बैंकिङ क्षेत्रममा समस्या आए त्यसले सम्रग अर्थतन्त्र नकारात्मक प्रभाव देखिने उनको भनाइ छ ।