‘राष्ट्र बैंकबाट सहकारी नियमन सम्भव छैन, शक्तिशाली नियामक गठन गर्छौ’

काठमाडौं । कमजोर नियमनको फाइदा उठाउँदै शहर केन्द्रीत केही सहकारीहरूले सदस्यको बचत दुरुपयोग गर्ने क्रम बढ्दै गएपछि सरकारले दोस्रो तहको नियामक गठन गर्ने प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसका लागि सैद्धान्तिक सहमतिका लागि अर्थ र कानून मन्त्रालयमा पठाएको छ । सहमति आएपछि कानून निमार्ण प्रक्रिया अघि बढ्ने छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीहरूलाई नियमन गर्न शक्तिशाली नियाकम गठन प्रक्रिया अघि बढाईएको बताएका छन् । शुुक्रबार सहकारी विभागसँगको सहकार्यमा नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले आयोजना गरेको ‘सहकारीमा दोस्रो तहको नियामक आवश्यकता र औचित्य’ विषयक छलफल कार्यक्रममा सहकारीलाई नियम अनुसार चलाउन कठोर नीति लिनुपर्ने मन्त्री अधिकारीले बताए । सहकारी अनुशासनमा नबस्दा समस्या निम्तिएको मन्त्री अधिकारीको भनाइ छ । ‘अनुशासनमा नबस्नु भनेको नै संस्थामा सुशासन कायम नहुनु हो’, उनले भने, ‘सहकारीमा भएका समस्या समाधान गर्न अब सरकारले कठोर कदम चाल्छ ।’ त्यसैगरी कार्यक्रममा सोही मन्त्रालयका सचिव सचिव गोकर्णमणि दुवाडीले दोस्रो तहको नियामक गठन गर्न सैद्धान्तिक सहमतिका लागि अर्थ र कानून मन्त्रालयमा पठाईएको जानकारी दिए । ‘सहकारीको संख्या बढी भयो । नियामक निकाय पनि कस्तो बनाउने भन्नेमा छलफल आवश्यक छ । ३२ हजार सहकारीलाई दोस्रो तहको नियामकबाट नियमन सम्भव छैन । यसका लागि एकीकरणमार्फत संख्या घटाएर जानुको विकल्प छैन’, उनले थपे, ‘राष्ट्र बैंकलाई करिब २ सय संस्थाको प्रभावकारी नियमन गर्न त समस्या छ भने यति धेरै सहकारी एउटै निकायले नियमन गर्ने कुरा सम्भव छैन ।’ निश्चित रकम भन्दा माथीको कारोबार गर्ने सहकारीको मात्रै नियमन गर्न सकिने उनले प्रष्ट पारे । एसटीआई आवश्यकता छ भनेर हरेक कार्यदलले निष्कर्ष निकालेको र अब यसलाई कार्यान्वयनमा ल्याईछाड्ने उनको भनाई छ । ‘सहकारीलाई बलियो नियमनको दायरामा ल्याएर सुदृढ अभियान बनाउने नियामक बनाउने हामीले परिकल्पना गरिसक्यौं’, सचिव ढुवाडीले भने, ‘हामीले सहकारीलाई सहकार्य भनेर सुरूवात गर्याैं। दोस्रो तहको नभई सहकारीको नियमन गर्ने निकाय गठन प्रक्रिया अघि बढाएका हौं । यो हालको सहकारी विभाग भन्दा पनि शक्तिशाली हुन्छ ।’ कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा बैंकिङ विज्ञ नरबहादुर थापाले अब बन्ने नियामक निकायमा स्वार्थ बाझिने समूह आवद्ध हुन नहुने स्पष्ट पारे । ‘सहकारीको सुपरीवेक्षण गर्नका लागि बन्ने निकायमा स्वार्थ बाझिने निकायका व्यक्ति बस्नु हुँदैन । प्राविधिक ज्ञान भएका विज्ञहरु बोर्डमा बस्नुपर्छ’, थापाले भने, ‘वित्तीय कारोबार गर्ने संस्थामा कुनै पनि बेला संकट आउन सक्छ । तरलता असहजता हुन सक्छ । त्यसको लागि अन्तिम ऋणदाताको रुपमा दरिलो निकाय आवश्यक छ ।’ राष्ट्र बैंक ऐन २०५८ अनुसार केन्द्रीय बैंकले काम गर्ने भएकाले कसैको निर्देशनमा सहकारीलाई नहेर्ने थापाले स्पष्ट पारे । सहकारीमा स्वनियमन भने पनि व्यवहारमा नदेखिएकाले दोस्रो तहको नियामक निकाय आवश्यक रहेको उल्लेख गरे । यता, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलले सरकारले एसटीआई बनाउने कुरामा समर्थन भएको भए पनि त्यसमा आफूहरूको सहभगिता हुनुपर्नेमा जोड दिए । अभियानको पक्षबाट प्रतिनिधि सहभागी हुनेगरी नियामक निकायको परिकल्पना हुनुपर्ने उनको जोड छ । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले तीन महिनाको अवधिमा सदस्यको बचत दुरुपयोग गर्ने ६ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको बताए । सदस्यको बचत सुरक्षा हुनुपर्छ भन्ने मान्यता सरकारको रहेको र ती सहकारीहरुको सम्पत्ति र दायित्वबाट बचतकर्ताको रकम फिर्ता गरिने उनले बताए । सहकारीको समस्यामा राज्य गम्भिर भएको र आफू विभागको रजिष्ट्रार भएर आएपछि समस्या समाधानको लागि विभिन्न प्रयासहरु अघि बढाएको घिमिरेले उल्लेख गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. रमेश चौलागाईले दोस्रो तहको नियामक निकायको आवश्यकता र औचित्यका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा उनले ठूला सहकारीको मात्रै अब बन्ने निकायले हेर्नुपर्ने बताए । सबै सहकारीको अनुगमन उक्त निकायबाट सम्भव नभएको भन्दै उनले सहकारीको वर्गीकरण गर्न आवश्यक रहेको जनाए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, कृषि सहकारी केन्द्रीय संघ, बागमती प्रोस्कून, जिल्ला संघहरु, विषयगत संघहरु र प्रारम्भिक सहकारीका सञ्चालक र व्यवस्थापन प्रमुखहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाल लाइफ क्यापिटलले इन्स्योरेन्ससंगको समन्वयमा गर्यो लगानी व्यवस्थापन सम्बन्धी कार्यक्रम

काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । ‘उज्वल भविष्यका लागि लगानी’ विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत्र ५ गते नेपालगंज, चैत्र ६ गते कोहलपुर, चैत्र ७ गते धनगढी, चैत्र ८ गते महेन्द्रनगर बजार र कन्चन क्याम्पस गरी उपत्यका बाहिरका ५ स्थानमा कार्यक्रम संचालन गरिएको थियो । सेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो । विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागीलाई लगानीका विधी, सानै उमेरबाट लगानी गर्दा भविष्यमा हुने लाभ र लगानीका जोखिमका विषयमा जानकारी प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे थियो । कार्यक्रमबाट ५०० जना सहभागीहरु लाभान्वित भएका थिए । नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले पुँजी बजारका असिमित संभावनाहरु तथा यसको बहु–आयामिक पक्षहरुको अध्ययन गरि नेपाली लगानीकर्ताहरुलाई सुरक्षित तथा लाभदायक लगानीका अवसरहरु प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता संचालन सेवा प्रदान गर्दै आइरहेको छ ।

सिद्वार्थ बैंक र एनबीआईबीच विद्युतीय सवारीमा वित्तीय लगानीको लागि सम्झौता

काठमाडौं । सिद्वार्थ बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच सम्झौता भएको छ । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र सिद्वार्थ बैंकबीच ‘नेपालमा विद्युतिय सवारी साधनमा वित्तीय लगानीको सम्भाव्यता’ का बारेमा अध्ययन गर्नका लागि सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सिद्वार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेल र नेशनल बैकिङ्ग इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरे । सम्झौता अनुसार नेशनल बैकिङ्ग इन्स्टिच्युटले नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार गर्नेछ । नेपालमा बैंक तथा वित्तीय संस्थामा क्षमता अभिवृद्विका लागि नेपाल राष्ट्र बैंक तथा विभिन्न बैंकहरुको सहभागितामा स्थापित नेशनल बैकिङ्ग इन्स्टिच्युटले विभिन्न कार्यक्रमहरु जस्तैः तालिम, सर्टिफिकेशन कोर्ष, सेमिनार,कार्यशाला, गोष्ठि आदि संचालन गर्दै आइरहेकोमा हालका दिनहरुमा अध्ययन,अनुसन्धानका क्षेत्रमा पनि आफ्नो क्रियाशिलता बढाउदै लगेको बैंकले बताएको छ । इन्स्टिच्युटले आगामी दिनमा बैकिङ्ग तथा वित्तिय क्षेत्रका विभिन्न विषयहरुमा अध्ययन, अनुसन्धान गरि मुलुकका बैंक तथा वित्तिय संस्थाहरुलाई आवश्यक सूचना जानकारी तथा तथ्यांङ्क उपलब्ध गराउने लक्ष्य लिएको छ।