आइजिआई प्रुडेन्सियलको केएल टावरमा रहेको शाखा स्थानान्तरण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको केएल टावरमा रहेको शाखा स्थानान्तरण गरेको छ । इन्स्योरेन्सको काठमाडौं नगरपालिका वडा नं. ७, स्थित केएल टावरमा रहेको शाखा कार्यालयलाई काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वडा नं. ३, स्थित महाराजगञ्ज, काठमाडौंमा स्थानान्तरण गरेको छ । आफना ग्राहकहरुलाई छिटो र छरितो तरिकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष बृद्धि गरि लैजाने उद्देश्यले शाखा कार्यालय चाबहिलबाट महाराजगञ्जमा स्थानान्तरण गरेको कम्पनीले जनाएको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेटदै निर्जीबन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले र बीमा व्यवसायमा अझ फराकिलो पार्दै कम्पनीले आफनो शाखाहरु थप्दै लैजाने उद्देश्यले अगाडी बढेको जानकारी गराएको छ । साथै, आजैबाट स्थानान्तरण गरिएको शाखा कार्यालय महाराजगञ्जबाट ग्राहकहरुलाई निर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गरिने व्यहोरा समेत जानकारी गराएको छ ।

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वीरगञ्ज । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म नौ दशमलव चार प्रतिशत अर्थात् पाँच लाख ७३ हजार चार सय ३३ ले मात्रै बीमा गराएका छन् । यो तथ्याङ्कले मधेस प्रदेशमा बीमाप्रति सर्वसाधारणको आकर्षण कम रहेको देखाउँछ । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयका प्रमुख कुशुम शर्माले मधेस प्रदेशमा बीमाको पहुँच कम भएकाले तीनवटै तहका सरकारको समन्वयमा प्रदेशभरिका जनताको बीमा गर्ने योजना अघि बढाउन आवश्यक रहेको बताए । ‘मधेस प्रदेशमा बीमाको पहुँच न्यून देखिएको छ । यहाँका जनताको आर्थिक तथा स्वास्थ्यको स्तर कमजोर भएकाले तीनवटै तहको सरकारले आवश्यक समन्वय गरेर प्रदेशभरिका जनताको बीमा गरिदिने परिपाटीको विकास गर्न आवश्यक देखिएको छ’, उनले भने, ‘यसअघि कर्णाली प्रदेश सरकारले त्यहाँका सबै जनताको बीमा गरिदिएझैँ यहाँ पनि सबै जनताको बीमा गर्न जरुरत देखिन्छ, त्यसका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार छ ।’ मधेस प्रदेशमा मात्रै होइन, समग्र मुलुकभरिका नागरिकमा बीमा पहुँचको अवस्था सन्तोषजनक छैन । विसं २०८० को चैत मसान्तसम्म मुलुकभरिका ४३ दशमलव तीन प्रतिशत जनसङ्ख्या मात्रै बीमाको पहुँचमा छन् । अझै ५६ दशमलव सात प्रतिशत नागरिक जीवन बीमाको पहुँचभन्दा बाहिर छन् । विसं २०७५ सम्म मुलुकभरि १७ प्रतिशत जनता बीमाको पहुँचमा थिए । प्राधिकरण मधेस प्रदेश कार्यालयका सहायक निर्देशक निर्मल खनालले मधेस प्रदेशका नागरिकमा बीमा साक्षरतासम्बन्धी ज्ञानको कमी र सीमावर्ती बजारमा बीमा गर्ने परम्पराले बीमाको पहुँचमा कमी आएको बताउँछन् । ‘मधेस प्रदेशमा उच्च गरिबी र अशिक्षाका कारण बीमा गर्नुपर्छ भन्ने सोचको विकास हुन सकेको छैन’, उनले भने, ‘भारतीय सीमावर्ती बजारका कारण सीमापारी बीमा गर्ने परिपाटीले मधेस प्रदेशमा बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढाउन सकिएको छैन ।’ बीमाबाट अनुचित लाभ लिन खोज्ने प्रवृत्ति, बीमकको शाखा/उपशाखामा न्यून जनशक्ति र बीमासम्बन्धी गलत बुझाईले बीमालाई प्राथमिकता नदिँदा आकर्षण बढ्न सकेको छैन । निप्स ननलाइफ वीरगञ्जका अध्यक्ष धीरज शर्माले मधेस प्रदेशका जनता गरिबीको रेखामुनि र आर्थिक अवस्था कमजोर भएकाले राज्यकै तर्फबाट बीमा गर्ने संस्कारको विकास गर्न आवश्यक रहेको बताए । निप्स लाइफ वीरगञ्जका अध्यक्ष प्रमोदप्रसाद शाहले बीमा कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाको मारमा सर्वसाधारण पर्दा बीमाप्रतिको आकर्षण बढाउन नसकिएको बताए । ‘अचेल बीमा कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाले बीमा गर्ने सर्वसाधारण मर्कामा परेका छन् । यस्ता विकृति–विसङ्गतिलाई प्राधिकरणले न्यूनीकरण गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ ।’ बीमा गर्नेले बीमा कम्पनीलाई बीमाको प्रिमियम तिरेपनि तत्कालै बीमाको दाबी भुक्तानी गर्नुपर्ने उनले बताए । ‘बीमा दाबी भुक्तानी प्रक्रियागत झन्झट र लम्बेतान प्रक्रियाले सर्वसाधारणले समस्या भोगिरहनुभएको छ । सर्वसाधारणले भोगेका समस्या समाधान गर्न हामीले आवश्यक काम गर्दै आइरहेका छौँ’, शाहले भने, ‘बीमा कम्पनीले बीमाकर्ताबाट प्रिमियम लिएपछि भुक्तानी प्रक्रियालाई सहज बनाएर सर्वसाधारणलाई बीमाप्रति आकर्षण बढाउनेतर्फ आवश्यक कदम चाल्न जरुरी छ ।’ प्राधिकरणले बीमा क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कार्यालयका अनुसार मधेस प्रदेशमा २०८० चैत मसान्तसम्म जीवन बीमातर्फ दुई सय २५ शाखा कार्यालय रहेका छन् । त्यस्तै निर्जीवन बीमातर्फ एक सय २८ र माइक्रो जीवन बीमातर्फ सात र माइक्रो निर्जीवन बीमातर्फ चार गरी कुल तीन सय ६४ वटा बीमा कार्यालयका शाखा छन् । गत आवमा जीवन र निर्जीवन र अन्यतर्फ गरेर तीन सय ४० वटा शाखा कार्यालय रहेका थिए । बीमा कार्यालयहरुमा कुल एक हजार एक सय ६५ जनाले रोजगारी पाएका छन् । प्राधिकरणका अनुसार गत आवसम्म मधेस प्रदेशमा सक्रिय बीमालेख सङ्ख्या पाँच लाख ७४ हजार चार सय १२ रहेको थियो । मधेस प्रदेशमा चालु आवको चैत मसान्तसम्ममा कुल बीमा शुल्क सङ्कलन रु नौ अर्ब ८४ करोड रहेको छ । ‘म्याचुरिटी’ दाबी बीमालेख सङ्ख्या नौ हजार चार सय ७७ छ । मधेस प्रदेशमा ‘सरेन्डर’ बीमालेख सङ्ख्या नौ हजार चार सय ६५ छ । कार्यालयका अनुसार चालु आवमा दाबी भुक्तानी बीमालेख सङ्ख्या १५ हजार चार सय ५० रहेको छ । मधेस प्रदेशमा निर्जीवन सक्रिय बीमालेख सङ्ख्या दुई लाख ३८ हजार तीन सय ४१ छ । त्यस्तै निर्जीवन बीमातर्फ कुल बीमा शुल्क सङ्कलन एक अर्ब ९९ करोड रुपैयाँ रहेको छ । मधेस प्रदेशमा कुल ‘ग्रेस क्लेम’ बीमालेख सङ्ख्या छ हजार तीन सय ९४ रहेको छ । कुल दाबी भुक्तानी बीमालेख सङ्ख्या पाँच हजार १८ रहेको छ । रासस

प्रभु बैंकका ग्राहकले काठमाडौं मोडेल अस्पतालमा छुट पाउने

काठमाडौं । प्रभु बैंकका ग्राहकले काठमाडौं मोडेल अस्पतालमा छुट पाउने भएका छन् । प्रदशनिमार्ग स्थित काठमाडौं मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । एक समारोहकाबीच काठमाडौं मोडेल अस्पतालका प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले काठमाडौं मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ । नेपालको सामुदायिक क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक काठमाण्डू मोडेल अस्पतालले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि काठमाण्डू मोडेल अस्पतालमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ । साथै काठमाण्डू मोडेल अस्पतालले दन्त चिकित्सालय सुविधा पनि उपलब्ध गराउदै आइरहेको छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।