नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा आज, ४० प्रतिशत हकप्रद प्रस्ताव पारित हुने

काठमाडौं । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा आज बस्दैछ । सभा  बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा सुरु हुनेछ । सभाले कम्पनीले हाल कायम जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० सेयरबापत ४ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।

नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षका लागि नियुक्त गरिएको हो । घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरी १० वर्षभन्दा बढी समय कार्यसम्पादन गरेका छन् । घिमिरेले एफसीसीए साथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) बाट इएमबीए पनि गरेका छन् । घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सञ्चालनमा विज्ञता रहेको छ ।  

दुसित प्रिन्सेसमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौं । दुसित प्रिन्सेस काठमाडौंमा सिटिजन्स बैंकका ग्राहकलाई छुट हुने भएको छ । बैंक र लाजिम्पाट, काठमाडौं स्थित दुसित प्रिन्सेस काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दुसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।