निर्जीवन बीमाको व्यवसाय ३३ अर्ब बढी, १० महिनामा बिक्री गरे पौने २५ लाख पोलिसी
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३३ अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैशाखसम्म ४ लघुबीमासहित १८ वटा बीमा कम्पनीले २४ लाख ७८ हजार ७२७ वटा बीमा पोलिसी बिक्री गरी ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । १० महिनासम्म १४ वटा ठूला बीमा कम्पनीले २३ लाख ९३ हजार १८२ वटा बीमा लेख बिक्री गरी ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ र ४ वटा लघुबीमा कम्पनीले ८५ हजार ५४५ बीमालेख बिक्री गरी १९ करोड ३९ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । समीक्षा अवधिसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले २ लाख ६१ हजार २५२ वटा पोलिसी जारी गरी ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ लाख ४३ हजार १५ बीमा लेखवापत ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ५३ हजार ५८७ बीमा लेख बिक्री गरी ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ लाख १० हजार ९०३ बीमा लेख बिक्री गरेर २ अर्ब ९३ करोड ३ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ लाख ९८ हजार ४४३ बीमा लेख बिक्री गरेर २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँको व्यवसाय गरेका हुन् । नेको इन्स्योरेन्सले २ अर्ब ६४ करोड ७१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब १७ करोड ६१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ३ करोड ९१ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ९४ करोड ६५ लाख रुपैयाँ संकलन गरेका हुन् । ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ६४ करोड ६० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ करोड २५ करोड ८७ लाख र नेशनलले ९४ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल माइक्रोले ३८ हजार ४९२ बीमा लेख जारी गरी ७ करोड ६७ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले २० हजार ३३३ बीमालेख बिक्री गरेर ६ करोड १४ लाख रुपैयाँ, स्टार माइक्रोले २१ हजार १२९ बीमालेख वापत ४ करोड २५ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ५ हजार ५९१ बीमा लेख वापत १ करोड ३० लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका हुन् ।
सबैको लघुवित्तले दियो फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर बनाउने तालिम
काठमाडौं । तनहुँ जिल्लाको डुम्रेमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फिनेल, ह्याण्डवाश र ट्वाइलेट क्लिनर बनाउने तालिम दिएको छ । तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले संस्थाको डुम्रे शाखाका आफ्ना ३३ जना ग्राहक सदस्यहरुको सहभागितामा गत जेठ ५ गते शनिबार तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–१, डुम्रेमा ‘फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर बनाउने तालिम’ सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षक बालकृष्ण सापकोटा, पवन कुमार श्रेष्ठ, कुशल पोख्रेल, सुमन राज गिरी रहेका थिए । ह्याण्ड वाश बनाउन चाहिने सामग्री, ह्याण्डवाश बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, ट्वाइलेट क्लिनर बनाउन चाहिने सामग्री, ट्वाइलेट क्लिनर बनाउन चाहिने कच्चा पदार्थको उपलब्धता, मूल्य, फिनेल बनाउन चाहिने सामग्री, फिनेल बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, वित्तीय साक्षरता आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले बताएका थिए । तालिममा उपस्थित सहभागीहरुलाई सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका डुम्रे सुपरीवेक्षण मुकामका सुपरीवेक्षण अधिकृत कुशल पोख्रेलले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । तालिमको उद्देश्य, महत्व तथा संस्थाको प्रगति विवरण साथै संस्थाले उपलब्ध गराएको वित्तीय सेवाहरु तथा गैर वित्तीय सेवाहरुको बारेमा संस्थामा नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएको थिए । नायब महाप्रवन्धक श्रेष्ठले जुन परियोजनाको लागि कर्जा लिएको हो सोही परियोजनामा लगानी गरेमा मात्र फाइदा लिन सकिने हुँदा कर्जा लिएर सदुपयोग गर्ने भएमा मात्र कर्जा लिन र जुनसुकै परियोजना सञ्चालन गरे पनि ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गरी अगाडि बढ्न सुझाएका थिए । बन्दिपुर गाउँपालिका वडा नं. १ की महिला सदस्य रोशनी बराकोटीले महिलाहरुले कर्जा लिएर सदुपयोग गरेमा मात्र सफल हुन सकिने बारेमा जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथी तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले तालिममा सक्रियतापूर्वक सहभागी भई राम्रोसँग सिक्न, तालिमलाई ब्यवहारमा उतारेर फाइदा लिन र फाइदा भएको रकम बचत गर्न सुझाएका थिए । साथै, ब्यवसायिक रुपमा परियोजना सञ्चालन गर्न जानकारी गराएका थिए । कार्यक्रमका विशेष अतिथी शिव कुमार श्रेष्ठले कर्जा लिएर कर्जाको सदुपयोग गर्न सुझाएका थिए । वडाध्यक्ष श्रेष्ठले तालिममा सहभागीहरुलाई परियोजना सञ्चालन गरी अगाडि बढ्न हौसला प्रदान गरेका थिए । त्यसै गरी संस्थाको डुम्रे शाखाका शाखा प्रमुखले तालिममा सक्रियतापूर्वक सहभागी भई तालिमलाई ब्यवहारमा उतार्न पहल गर्न अनुरोध गरेका थिए । तालिमका मुख्य प्रशिक्षक बालकृष्ण सापकोटाले फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनरको महत्व, फाइदा, आवश्यकता बारेमा जानकारी गराएका थिए साथै घरमै बसेर थोरै लगानीमा यो ब्यवसाय गर्न सकिने जानकारी गराएका थिए । तालिमको मूल्याकंन गर्दै सहभागीहरुले मन्तव्य राखेका थिए । फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर उत्पादन गर्न सकिएको खण्डमा फाइदा लिन सकिने रहेछ । मन्तव्यका क्रममा वक्ताहरुले तालिममा सिकेका कुराहरु ब्यवहारमा उतार्न अनुरोध गरेका थिए । सहभागीहरुले तालिममा सिकेका ज्ञान, सीप ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पुर्याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गरी रहेको छ । संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दैं जाने लक्ष्य रहेको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराएका थिए । तालिमको अन्त्यमा तालिममा सहभागीहरुलाई प्रमाणपत्रका साथै फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर पनि वितरण गरिएको थियो । तालिमको सञ्चालन संस्थाको डुम्रे शाखाका शाखा प्रमुख सुमन राज गिरीले गरेका थिए ।
हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न युनाइटेड अजोड इन्स्योरेन्स डाक्यो विशेष साधारण सभा
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा डाकेको गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ३१ गते बस्ने गरी विशेष साधारण सभा डाकेको हो । सभा काठमाडौं टंगालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजे आयोजना हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात १०० सेयरबापत १५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभाले हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्तापुँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ २५ गतेका दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।