पिपुल्स डेन्टल र नेपाल एसबिआईबीच व्यवसायिक सम्झौता

काठमाडौं । पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच व्यवसायिक सम्झौता भएको छ । शुक्रबार पिपुल्स डेन्टल र एसबिआई मर्चेण्टबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्द र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लि. लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले दन्त परिक्षण निःशुल्क गर्ने सहमति भएको छ । त्यस्तै, दाँत सफा गर्दा २० प्रतिशत, दाँत निकाल्ने र दाँत भर्दा १५ प्रतिशत तथा दाँत सम्बन्धी अन्य सेवामा ५ प्रतिशत तथा जनरल अस्पताल, नयाँबजारले सञ्चालन गर्ने सेवाहरुमा परीक्षण निशुल्क पाइनुका साथै, बेड चार्जमा १५ प्रतिशत तथा ल्याब, भिडियो एक्स् रे, ईसिजि र ओ.टीमा क्रमशः १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ । पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल, नयाँबजार काठमाडौं सन् १९९७ मा स्थापना भई हाल सम्म अनवरत रुपमा संचालित त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्धन प्राप्त नेपालकै प्रथम डेन्टल कलेज एण्ड हस्पिटल हो । जसले डेन्टल कलेज तथा जनरल अस्पताल सञ्चालन गरी विभिन्न स्वास्थ्य सम्बन्धी सेवा सुविधा प्रदान गर्दै आइरहेको बैकले जनाएको छ ।

नेपाल पुनर्बीमाको सीईओ बने थापा, ‘बलियो प्रणालीको विकास गर्छु’

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले थापालाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पुनर्बीमा कम्पनीको उम्मेदवार छनौट तथा सिफारिस समितिले सर्टलिष्टमा परेका पाँच जनाको अन्तर्वार्ता लिइसकेपछि बोर्डले थापालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सर्टलिष्टमा थापासहित दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की परेका थिए । कम्पनीले व्यावसायिक कार्यजोजना प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि सर्टलिष्टमा परेकाहरूलाई हिजो शनिबार बोलाएको थियो । अध्यापन र प्रशासनमा दख्खल थापा यसअघि अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत थिए भने त्यसअघि राष्ट्रिय बीमा संस्थानमा कामु प्रशासकसम्म भएका थिए । नेपाल पुनर्बीमा कम्पनी ठूलो कम्पनी भएकाले यसको सञ्चालन प्रणालीलाई प्रभावकारी बनाउने र जनशक्ति परिचालन प्रभावकारी बनाउनमा आफ्नो भूमिका केन्द्रित हुने थापाले बताए । ‘कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्नु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हो, प्रभावकारी व्यस्थापनका लागि जनशक्तिको परिचालन सही ढंगले हुनुपर्छ,’ थापाले विकासन्युजसँग भने, ‘यसका लागि व्यवस्थापन समूहलाई प्रोत्साहित गर्नुपर्छ, संस्था सञ्चालनका लागि बलियो प्रणालीको विकास गर्नुपर्छ, मेरो पहिलो प्रयास त्यसैमा केन्द्रित हुन्छ ।’

सरकारले सहकारी ठगलाई जोगाउने षड्यन्त्र गरिरहेको छ : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रश्ताव राख्दै अध्यक्ष केसीले सरकारले सहकारी ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई जोगाउने षड्यन्त्र गरिरहेको बताएका हुन् । उनले सरकारले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गरेको बताए । सरकारको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगर्ने पनि जानकारी दिए । उनले भने, ‘सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारणले सत्ताधारीको जुन दुर्दशा छ, यसको राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ । र यो नीति, कार्यक्रमलाई समर्थन गर्दैन । विरोध गर्छ ।’ उनले सत्ताधारीको दुर्दशा रहेको टिप्पणी गर्दै त्यसको पनि राष्ट्रिय जनमोर्चाले विरोध गर्ने बताए ।