फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा

काठमाडौं । फोनपेले आफ्नो नयाँ आविष्कार स्वरुप, मोबाइल फोनहरूमा ‘भ्वाइस नोटिफिकेशन’सेवा सुरु गरेको छ । फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एप मार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन् । फोनपे बिजनेस एप, एक मोबाइल एप हो जुन विशेष गरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सुविधाले एसएमएस मार्फत भुक्तानी पुष्टिकरणमा भर पर्नु पर्ने आवश्यकतालाई हटाएको छ । यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले या त फोनपे बिजनेस एप डाउनलोड गरी, वा केवल फोनपे बिजनेस एप को नयाँ भर्जनमा अपडेट गरी, ‘नोटिफिकेसन सेटिंग’ बाट ‘भ्वाइस नोटिफिकेशन’ सुचारु गर्न सक्नेछन् । आज बढ्दो गतिको व्यवसायिक वातावरणमा, व्यवसायहरूहरुले विशेष गरी भीडभाड र सम्भावित टेलिकम नेटवर्क अवरोधहरूको समयमा डिजिटल भुक्तानी लेनदेन सम्बन्धित केहि चुनौतीहरूको सामना गरेका छन् । ‘भ्वाइस नोटिफिकेशन’ सुविधाको सुरुवात सँगै, फोनपे बिजनेस एपका प्रयोगकर्ताहरूले भुक्तानी सूचनाहरूका लागि आफ्नो मोबाइल फोनको निरन्तर म्यानुअल अनुगमन गर्नु पर्ने आवश्यकता हटेको छ । अब व्यवसायहरु आफ्नो व्यापार सञ्चालनमा पूर्ण तरिकाले केन्द्रित रहन सक्ने कम्पनीले जनाएको छ । भ्वाइस सूचना सुविधाले स्पष्ट र श्रव्य आवाज अलर्टको रूपमा वास्तविक-समय (रियल टाइम) भुक्तानी सूचनाहरू डेलिभर गर्दै व्यापारीहरूबाट महत्त्वपूर्ण लेनदेन सम्बन्धि जानकारीहरु कहिल्यै नछुटोस् भनी सुनिश्चित गरेको फोनपेका सीईओ दिवस कुमारले बताए ।

हिमालयन बैंकको विराटनगर शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा कार्यालय स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरेको हो । बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका-१२, मोरङबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ । बैंकले जेठ २० गतेदेखि यस्तो सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । उद्योग वाणिज्य संगठन मोरङका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बैंकका अन्य कर्मचारीहरुको उपिस्थति थियो ।

सानिमा रिलायन्स लाइफले पायो कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को उपाधि

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैंकलाई हराउँदै सानिमा रिलायन्स लाइफको महिला क्रिकेट टिमले उक्त उपाधि हासिल गरेको हो । टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफकै स्वस्तीका कार्किले बेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन् । साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए । विजेता टिमको क्यापटेन स्वेता सिंह र टिम म्यानेजर संगिता गिरी रहेका थिए । आयोजक एन इभेन्टस् रहेको उक्त वुमन्स बिच क्रिकेट टुर्नामेन्टको पदकहरु जित्न सफल टिमलाई कम्पनीको तर्फबाट बधाई ज्ञापन गरेको जनाएको छ ।