साधना र सबैको लघुवित्तले पाए मर्जरका लागि अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले यी दुवै संस्थालाई मर्जरका लागि जेठ २९ गते अन्तिम स्वीकृति दिएको हो । दुवै संस्थाले ‘साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न स्वीकृति पाएका हुन् । गोरखामा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था र तनहुँको बन्दीपुर गाउँपालिका-१, डुम्रेमा रजिष्टर्ड कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाले गत फागुन १९ गते छुट्टाछुट्टै सम्पन्न साधारण सभबाट १ः१ स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए ।

द सेन्चुरियन होटलले पुँजी बढाउन र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्टसँग गर्यो सम्झौता

काठमाडौं । पुँजीवृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता भएको छ । बुधबार द सेन्चुरियन होटल, विराटनगर र नेक्सजेन म्यानेजमेन्टबीच पुँजीवृद्धि, लगानीकर्ता जुटाउने र होटल सञ्चालन सम्बन्धमा सम्झौता भएको हो । सो सम्झौता सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा भएको हो । सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । ‘विराटनगर धरान रोड स्थित शहरको केन्द्रविन्दुमा द सेन्चुरियन होटलको १० तल्ले भवन निर्माण सम्पन्न भैसेको छ। भवनमा व्यवसायिक प्रयोजनका पसलहरू, सभा सम्मेलन, विवाह व्रतबन्धको लागि हल समेत उपलब्ध हुनेछ । सोहि भवनको चार तल्ला देखि माथि पाँच तारे स्तरको १४६ कोठाको र्याडिसन विराटनगर होटल सञ्चालन हुनेछ’, कम्पनीकाे बिहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘होटल सञ्चालनको लागि अन्तर्राष्ट्रिय ब्राण्ड र्याडिसन होटल ग्रुपसँग जुलाइ २०२२ मा सम्झौता भैसकेको छ । नेपालका उद्योगपति तथा पूर्व मन्त्री मोतिलाल दुगडको नेतृत्वमा सेन्चुरी ग्रुप अफ कम्पनी अन्तर्गत यो पाँच तारे होटल सञ्चालन हुने छ ।’ होटललाई पाँच तारे तथा अन्तर्राष्ट्रिय स्तरको बनाउन र अन्य थप आवश्यक निर्माण र साजसज्जाको लागि थप पूँजी आवश्यक पर्छ । सोहि उद्देश्यको लागि कम्पनीको पुँजीवृद्धि गर्न, थप संस्थापक लगानीकर्ता ल्याउन तथा अन्य आवश्यक व्यवस्था गर्न नेक्सजेन म्यानेजमेन्टसँग सम्झौता गरिएको हो । साथै सोहि सिलसिलामा कम्पनीको पुँजीवृद्धि गर्न र सर्वसाधारणलाई सेयर निष्काशनको प्रावधान सहित लिमिटेड कम्पनीमा परिणत गर्ने प्रकृया पनि अगाडि बढाइसकेको कम्पनीले जनाएको छ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले अन्तराष्ट्रिय लगानी सम्मेलनमा नेपालमा विभिन्न उद्योग व्यवसायमा ६ अर्ब लगानी भित्र्याउने गरी कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुपसँग सम्झौता गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

४ हजार २१ वडाका मान्छे बैंकको सेवा लिन अर्काे वडा जान्छन्, ५.१ प्रतिशत वडामा १० भन्दा बढी सहकारी

काठमाडौं । देशभर ७५३ वटा स्थानीय सरकार छन् भने ६ हजार ७४३ वडापालिका छन् । सरकारको लक्ष्य अनुरूप ७५३ वटै पालिकामा बैंक तथा वित्तीय संस्थाहरूको पहुँच पुगेको भएपनि ५९.६ प्रतिशत अर्थात् ४ हजार २१ वटा वडापालिकामा बैंकको पहुँच पुगेको छैन । यी वडा पालिकाका मान्छेहरूले बैंक तथा वित्तीय संस्थाको सेवा लिनका लागि कुनै अर्काे वडापालिकामा जानु पर्ने बाध्यता देखिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कुल ६ हजार ७४३ वडापालिकामध्ये हालसम्म ४०.४ प्रतिशत अर्थात् २ हजार ७२२ वटा वडामा मात्रै बैंक तथा वित्तीय संस्थाको पहुँच पुगेको छ । राष्ट्रिय जनगणना २०६८ को सामुदायिक प्रश्नावलीका प्रमुख नतिजाहरूको प्रतिवेदन अनुसार १ देखि २ वटा बैंक तथा वित्तीय संस्था भएका वडा २५.५ प्रतिशत, ३ देखि ४ वटा हुने वडाहरू ६.६ प्रतिशत र ५ देखि ९ वटा भएका वडा ५.५ प्रतिशत छन् भने १० भन्दा बढी भएका वडा २.८ प्रतिशत रहेका छन् । प्रदेशअनुसार सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था बागमती प्रदेशमा ४९.२ प्रतिशत अर्थात् ५५१ वडामा बैंक छन् भने सबैभन्दा कम कर्णालीमा २१.३ प्रतिशत वडामा बैंक तथा वित्तीय संस्था रहेका छन् । बैंक तथा वित्तीय संस्था नभएको वडा हेर्दा कर्णाली प्रदेशमा ७८.७ प्रतिशत, सुदूरपश्चिममा ६७.४ प्रतिशत, मधेस प्रदेशमा ६१.१ प्रतिशत छन् भने गण्डकी प्रदेशको पनि करिब ५९ प्रतिशत वडामा बैंक तथा वित्तीय संस्थाको सुविधा नरहेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । साथै, देशभरका २ हजार ५३ वटा वडामा मात्रै मूलबजार सुबिधा रहेको तथ्याङ्क छ । प्रतिवेदन अनुसार १ देखि २ वटा मूलबजार भएका वडा २७.७ प्रतिशत, ३ देखि ४ वटा भएका वडाहरू २ प्रतिशत र ५ देखि ९वटा भएका वडा ०.५ छन् भने १० भन्दा बढी भएका वडा ०.३ प्रतिशत रहेका छन् । प्रदेशअनुसार सबैभन्दा बढी मूल बजार भएको प्रदेश बागमतीमा ३९.२ प्रतिशत रहेको छ भने कम रहेको कर्णाली प्रदेशमा २२.१ प्रतिशत वडामा मूलबजारको सुविधा रहेको छ । बागमती प्रदेशमा १ देखि २ वटा मूलबजार भएका वडा करिब ३२.२ प्रतिशत छन् भने १० भन्दा बढी भएका ११ वटा वडा रहेका छन् । यस्तै, देशभरका विभिन्न पालिकाका २ हजार ५८ वडामा मात्रै हाटबजार सबिधा रहेको छ । जसमध्ये कोशीका ५७९, मधेशका ७८१, बागमतीका १६१, गण्डकीका ९२, लुम्बिनीका २५९, कर्णालीमा ८० र सुदूरपश्चिम प्रदेशका १०६ वडामा हाटबजार सुबिधा रहेको तथ्याङ्क सार्वजनिक भएको हो । तथ्याङ्क कार्यालयका अनुसार देशभर ४ हजार ९६८ वटा अर्थात् ७३.७ प्रतिशत वडापालिकामा सहकारी संस्था रहेका छन् । जसमध्ये १ देखि २ वटा सहकारी संस्था भएका वडा ३७.४ प्रतिशत, ३ देखि ४ वटा हुने वडाहरू १७.७ प्रतिशत र ५ देखि ९ वटा भएका वडा १३.५ प्रतिशत छन् भने १० भन्दा बढी भएका वडा ५.१ प्रतिशत रहेका छन् । देशभर १ हजार ७७५ अर्थात् २६.३ प्रतिशत वडापालिकामा कुनै पनि सहकारी संस्था नरहेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । प्रदेशअनुसार सबैभन्दा बढी सहकारी संस्था हुने प्रदेश पनि बागमतीमा ८४.७ प्रतिशत अर्थात् ९४९ वडामा छन् भने कर्णालीमा ५७.४ प्रतिशत वडामा सहकारी संस्था छन् । यस्तै, कोशीमा ९३३, मधेस प्रदेशमा ८८१, गण्डकीमा ५८९, लुम्बिनी ७४३ र सुदूरपश्चिम प्रदेशमा १६५ वडापालिकामा मात्रै सहकारी संस्था छन् ।