ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इनबीच सम्झौता भएको छ । बैंक र होटेल आइकावा इन प्रा.लि.बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इनका विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इनका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ-संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका छुट दिने योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ सम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ३० का अध्यक्ष दल बहादुर कार्की, वडा नं. २९ का अध्यक्ष कुश ढकाल, वडा नं. ३० का वडा सदस्य मनोज कुमार डंगोल, वडा नं. ३०का वडा सचिव शम्भु बराल लगायत २०० जनाभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्लेले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवाहरुको बारेमा जानकारी गराएका थिए । डिल्लीबजार शाखा प्रबन्धक श्रुती हाडाका अनुसार कार्यक्रमको मुख्य उदेश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ ।

समृद्धि फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार १ गते देखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले असार महिनाका लागि निक्षेपमा ५.२५ देखि ६.२५ , रेमिट्यान्स बचत खातामा ७.२५ प्रतिशत , व्यक्तिगत मुद्दती निक्षेपक तर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत ब्याजदर तोकेको छ । फाइनान्सले व्यक्तिगततर्फ ३ देखि ६ महिना अवधिका लागि ७.२५ प्रतिशत, ६ महिना देखि ९ महिना अवधिका लागि ७.५० प्रतिशत,९ महिना देखि १ वर्ष अवधिका लागि ७.७५ प्रतिशत, १ वर्ष देखि २ वर्ष अवधिका लागि ८ प्रतिशत र २ वर्ष देखि माथिका लागि ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै संस्थागततर्फ ६ महिना देखि ९ महिना अवधिका लागि ६.५० प्रतिशत, ९ महिना देखि १ वर्ष अवधिका लागि ६.७५ प्रतिशत १ वर्ष देखि २ वर्ष अवधिका लागि ७ प्रतिशत, र २ वर्ष देखि माथिको अवधिका लागि ७.२५ प्रतिशत ब्याजदर तोकेको फाइनान्सले जानकारी दिएको छ ।