बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औं शाखा सञ्चालनमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो ३०३ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि दशरथचन्द नगरपालिका, वडा नं.२ स्थित देहीमाण्डौंमा शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा खोलेर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको जनाएको छ । बैंकको देहीमाण्डौ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
सहकारी महासंघले असारमा रोजगार मेला गर्ने
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले दक्ष युवा मानवशक्ति आकर्षण गर्दै सहकारीमार्फत बेरोजगारी न्युनिकरणमा योगदान दिने उद्देश्यले सहकारी रोजगार मेला आयोजना गर्ने भएको छ । असार ७ गतेदेखि ९ गतेसम्म हुने प्रथम सहकारी रोजगार मेला महासंघ परिसर पुल्चोकमा सञ्चालन हुनेछ । महासंघका अनुसार रोजगारीको खोजीमा रहेका युवा तथा विद्यार्थीहरुलाई सहकारी क्षेत्रमा उपलब्ध रोजगारका अवसरहरुबारे जानकारी गराउने, दक्ष जनशक्तिको खोजीमा रहेका सहकारी संघ संस्थाहरुलाई जनशक्ति पहिचान गर्ने अवसर प्रदान गर्ने, वृत्ति विकाससम्बन्धी परामर्श सेवा उपलब्ध गराउने, रोजगारीका लागि सहजीकरण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको छ । ५ हजार बढी अवलोकनकर्ताहरु सहभागी हुने मेलामा ५० बढी सहकारी संघ संस्थाहरुको सहभागीता रहने दाबी महासंघले गरेको छ । यसैबीच, महासंघले मेलामा सहभागी भै भव्यताका साथ सफल पार्न सबैलाई आग्रह समेत गरेको छ ।
नेपाल बैंकद्वारा सडक डिभाइडर सहयोग
काठमाडौं । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाइडरहरू सहयोग स्वरूप प्रदान गरेको छ । नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना गरी नेपाल बैंक लिमिटेडको तर्फबाट शाखा प्रबन्धक नारायण प्रसाद दाहालद्वारा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल, प्रा.डा. ध्यानेन्द्र बहादुर राईसमक्ष सडक डिभाइडरहरू हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साह र नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखाका कर्मचारी तारा राई लगायतको उपस्थिति रहेको थियो ।