बीमा प्राधिकरणमा बोर्ड सचिवको जिम्मेवारी सुवेदीलाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीलाई प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी दिइएको छ । प्राधिकरणका निर्देशक सुवेदीले यही असार १ गतेदेखि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सम्हालेका छन् । प्राधिकरणका प्रवक्ता समेत रहेएका निर्देशक सुवेदीलाई असार १ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी तोकिएको सह-प्रवक्ता पुनम ज्ञवालीले जानकारी दिइन् ।

हिमालयन बैंकको शाखा स्थानान्तरण, त्रिपुरेश्वर शाखाको सेवा अब थापाथलीबाट

काठमाडौं । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ । आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी बैंकले शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरे । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आइतबारैदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औं शाखा सञ्चालनमा

काठमाडौं । कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औं शाखा सञ्चालनमा आएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कालिकोट, खाडाचक्र नगरपालिका, वडा नं.०१ मा स्थित मान्मामा ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ । बैंकको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।