सांग्रिला डेभलपमेन्ट बैंकद्वारा श्री जनज्योति माध्यमिक विद्यालयका विद्याथीलाई व्याग वितरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले श्री जनज्योति माध्यमिक विद्यालय चुहाडेका विद्यार्थीहरुलाई व्याग वितरण गरेको छ । बालुवाटार ४, काठमाडौं स्थित बैंकले त्रियुगा न.पा.– ७, चुहाडे स्थित श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई मंगलबार स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरुलाई १०० थान स्कूल व्याग ४, ५, ९ र १० का विद्यार्थीहरुलाई १०० थान कापी तथा कलम वितरण गरेको हो । सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट लघुवित्त विभागीय प्रमुख कर्ण बहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख उमेश खड्का, र श्री जनज्योति माध्यमिक विधालय चुहाडेको तर्फबाट अध्यक्ष उद्धव काफ्ले र प्रधानाध्यापक धर्मानन्द खतिवडाको उपस्थिति रहेको थियो ।

आरबीसीकै मापदण्डमा बीमा कम्पनीको मूल्याङ्कन हुन्छ, कार्यान्वयनमा जोड दिनु

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिममा आधारित पूँजी कार्यान्वयन गर्ने क्रममा आइपर्ने समस्याहरू समाधान गर्न र आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयन गर्ने विषयमा निर्जीवन बीमा कम्पनीहरूसँग अन्तक्र्रिया गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । अध्यक्ष सिलवालका अनुसार बीमा कम्पनीहरू परम्परागत रूपमा नभई आधुनिक समय अनुसार अघि बढ्नुपर्छ । कम्पनीको सक्षमता बढाउन र विश्व बजारमा विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूले आरबीसी लागु गर्नुपर्ने उनको भनाय छ । आरबीसी पूर्णरूपमा कार्यान्वयन गर्न कम्पनीका व्यवस्थापनले जनशक्तिको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उनले बताए । बीमा कम्पनीहरूले आरबीसीको कार्यान्वयन आफ्नै लागि हो भनेर बुझ्नुपर्ने उनको धारणा छ । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले पर्याप्त अध्ययन र गृहकार्य गरेर आरबीसी कार्यान्वयनमा ल्याएको बताए । निर्देशक सुवेदीले गत २०८० साल साउन १ गतेदेखि अन्तरिम रूपमा कार्यान्वयनमा आएको आरबीसी आगामी २०८४ साउन १ गतेदेखि पूर्णरूपमा कार्यान्वयनमा आउने उनले जानकारी गराए । उनका अनुसार आरबीसी कार्यान्वयनमा आएका अन्तरिम वर्षहरू बीमा कम्पनीहरूले आर्थिक वर्ष समाप्त भएको मितिले १२० दिनभित्र र पूर्णरूपमा कार्यान्वयमा आएपछिका वर्षमा आर्थिक वर्ष समाप्त भएको मितिले ९० दिनभित्र जोखिममा आधारित पूँजी सम्बन्धी प्रतिवेदन बुझाउनुपर्नेछ । निर्देशक सुवेदीले प्राधिकरणले पनि आरबीसीकै मापदण्डका आधारमा कम्पनीहरूको मूल्याङ्कन गर्ने बताए । नेपाल बीमक सङ्घले अध्यक्ष चंकी क्षेत्रीले कम्पनीका फरक–फरक समस्याहरू सङ्कलन गरेर प्राधिकरणमा छलफल गरी समाधान गरे सहज हुने धारणा राखे । आरबीसी कार्यान्वयनका क्रममा भूकम्प तथा बाढी पहिरो जस्ता जोखिमका बीमाशुल्कका बारेमा ध्यान दिए कार्यान्वयन गर्न कम्पनीहरू प्रतिवद्ध रहेको उनको भनाइ छ ।

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच सम्झौता

काठमाडौं । हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशन (एफपीओ) सम्बन्धी सम्झौता भएको छ । मंगलबार हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।