बागमती प्रोस्कूनले मनायो चौंथो वार्षिकोत्सव, १४ विधामा पुरस्कार तथा सम्मान घोषणा
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले चौंथो वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा बागमती प्रोस्कूनले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा मन्तव्य राख्दै बडालले सहकारी अभियान सक्षम नभई समानताको आधार नबन्ने बताए । उनले सहकारी क्षेत्रले बहुआयमिक गरिबीलाई कम गर्न खेलको भूमिका महत्वपूर्ण रहेको जनाए । मुलुकमा १४ हजार बचत तथा सहकारी संस्था रहेको भन्दै उनले बचत ऋण सहकारी अभियान ठीक ढंगले अघि बढे त्यसको प्रभाव सबै क्षेत्रमा पर्ने उनको भनाई छ । बचत ऋण अभियान ठीक हुने बित्तिक्कै अन्य क्षेत्रलाई ठुलो भरथेग हुने बडालले जनाए । जापान, कोरिया लगायतका राष्ट्रले भूमिसुधार र सहकारीलाई सँगसँगै लगेकाले आर्थिक रुपमा ठुलो फड्को मार्न सकेको उनको भनाई छ । सहकारीको बोर्ड झुन्डाएर मनपरी गर्ने र सहकारी मूल्य मान्यता र सिद्धान्तमा रहेर सदस्यको आर्थिक सामाजिक रुपान्तरण गर्ने सहकारीबीच कित्ताकाट हुनुपर्ने उनको धारणा छ । सहकारीले कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशतको योगदान गरेको भन्दै १ लाखले प्रत्यक्ष रोजगार पाएको बडालले बताए । देशभर ३० हजार सहकारी रहेको भन्दै उनले ५ सय सहकारी संस्थामा मात्रै समस्या आएको उल्लेख गरे । वार्षिकोत्सवको अवसरमा विभिन्न १४ विद्यामा पुरस्कार तथा सम्मान समेत घोषणा गरिएको छ । संघका सञ्चालक एंव सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक तेजेन्द्र खड्काले पुरस्कार तथा सम्मान घोषणा गरेका थिए । संघले उत्कृष्ट सहकारी अभियन्ता सम्मान सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाललाई दिने भएको छ । त्यसैगरी उत्कृष्ट बचत ऋण संघतर्फ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थातर्फ नव जागरण सहकारी, उत्कृष्ट महलिा सहकारी संस्थातर्फ ज्ञानज्योति महिला उत्थान सहकारी र सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रन्युज डटकमका सम्पादक माधव खड्कालाई दिने घोषणा त्यस अवसरमा गरिएको छ । त्यसैगरी प्रदेश उत्कृष्ट साकोस व्यवस्थापकमा पुरुषतर्फ विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थका प्रमुख कार्यकारी अधिकृत के. बि. लामा स्याङ्तान र उत्कृष्ट महिला कर्मचारीतर्फ मकवानपुर जिल्ला बचत तथ ऋण सहकारी संघकी व्यवस्थापक सुमित्रा वाईवा घोषित भएकी छिन् । साकोस पदाधिकारी सम्मान भरत प्रसाद दवाडी, उत्कृष्ट सेवा उपयोेग सम्मान पाँचतारा बचत तथा ऋण सहकारी संस्था, अधिक शेयर लगानी ज्योति मिर्मिर बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट बचत कारोबारमा काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ र सहकारी एकीकरणतर्फ भावना बचत तथा ऋण सहकारी संस्था दोलखालाई दिइने भएको छ । त्यसैगरी प्रोस्कुन पूर्व सञ्चालक सम्मान संघकी पूर्व अध्यक्ष राधा सुङताङ र कर्मचारीमध्येबाट कार्यालय सहयोगी लक्ष्मी खड्का क्षेत्रीलाई सम्मान गर्ने सो अवसरमा जानकारी दिइयो । संघको आगामी साधारणसभामा घोषित सम्मान तथा पुरस्कार वितरण गरिने संयोजक खड्काले जानकारी दिए । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेत, नेफस्कूनका कार्यवाहक अध्यक्ष दामोदार अधिकारी, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मौद्रिक नीति सन्तुलित र समयसापेक्ष : सीबीफीन
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्ष आएको बताएकाे छ । समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वासलाई जागृत गराउँदै विगत केही वर्षयता शिथिल हुँदै आएका आर्थिक गतिविधि र अर्थतन्त्रलाई जीवन्त बनाउँदै आर्थिक एवं वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासका लागि अपेक्षाकृतरूपमा सहजीकरणको प्रयास गर्ने गरी आएकाे माैद्रिक नीतिले आशा, भरोसा र विश्वास जगाएको परिसंघले बताएकाे हाे । ‘बैंक तथा वित्तिय संस्थाको पूँजीकोषमा भएको दबाव सम्बोधन गर्न क्यापिटल एडवेक्वेसी फ्रेमवोर्कमा पुनरावलोकन, असलकर्जाको नोक्सानी व्यबस्थामा कमी, रेगुलेटोरी रिजर्भमा रहेका केही रिजर्भलाई टायर टु क्यापिटलमा गणना गर्न सकिने प्रावधान र पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्नु मौद्रिक नीतिका सकारात्मक र सह्रानीय कदम रहेका छन्,’ परिसंघले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, नीतिगतदर घटाइनु, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा वृद्धि गरिनु, निर्माण व्यवसायीलाई विशेष प्राथमिकतासहितको राहत दिनु, संस्थागत सेयर धितो कर्जाको सीमा हटाइनु, कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जालाई सहज बनाउने नीति अवलम्बन गरिनु, चालु पुँजी कर्जासम्बन्धी मार्गनिर्देशनमा ‘भेरियन्स एनालिसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थामा समयावधि थप गरिनु, लघु, घरेलु, साना एवं मझौला उद्यमका लागि तोकिएको सीमालाई पुनरावलोकन गर्ने व्यवस्था गरिनुले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै सुषुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन महत्वपूर्ण सहयोग पुग्नेमा आशावादी रहेको परिसंघले बताएकाे छ । त्यसैगरी लघुवित्त संस्थाहरूलाई सुदृढिकरण गरिने, बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि लिइने पहलले समग्र वित्तीय प्रणालीमाथिको विश्वासमा अभिवृद्धि गर्न र स्थायित्व कायम गर्नमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको परिसंघकाे छ । परिसंघले सम्पत्ति व्यवस्थापन ऐनका लागि लिइने पहल र वित्तिय संस्थामा बढ्दो डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकतासम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सिर्जना हुनसक्ने जोखिमहरू पहिचान गर्ने गरी पहल गरिनु मौद्रिक नीतिका स्वागतयोग्य पक्ष रहेकाे बताएकाे छ । त्यसैगरी राष्ट्रिय भुक्तानी स्वीच पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत संरचना तयार पार्ने व्यवस्थाले समेत अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास परिसंघको छ । ‘बैंक तथा वित्तीय क्षेत्रसहित समग्र निजी क्षेत्रमा उत्साह भर्दै शिथिल अवस्थामा रहेका आर्थिक गतिविधि र अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएको मौद्रिक नीतिको व्यवहारिक एवं नतिजामूलक कार्यान्वयन हुने व्यावसायिक वातावरण र रोजगारीका अवसरहरू सिर्जना गर्दै यसअघि जारी पञ्चवर्षीय योजना र वित्तीय नीतिमा व्यवस्था गरिएबमोजिम रोजगारी र उच्च शिक्षाका लागि विदेशिएका नागरिकहरूलाई देश फर्काउने पहल नेपाल सरकारले पनि लिन जरुरी भएकाे परिसंघले जनाएकाे छ । विज्ञप्तिमा भनिएकाे छ, ‘नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिलाई वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासमा अधिक सदुपयोग हुने गरी कार्यान्वयनमा लैजान अत्यावश्यक रहेको छ, त्यसैगरी गत वर्षको मौद्रिक नीतिले कर्जा विस्तारको लक्ष्य हासिल गर्न असमर्थ भएको परिप्रेक्षमा यस वर्षको मौद्रिक नीतिमा तोकिएको कर्जा विस्तारको लक्ष्य हासिल गर्नका लागि अधिक तरलता र पूँजी पर्याप्तताको चापमा पिरोलिएका बैंक तथा वित्तीय क्षेत्रलाई राहत पुग्ने, र समग्र वित्तीय क्षेत्रको स्थायित्व एवं दिगो विकासको लक्ष्य प्राप्ति हुने गरी आगामी दिनमा जारी हुने निर्देशन र मौद्रिक नीतिको समीक्षामार्फत थप सहज नीतिहरू अवलम्बन गर्न समेत आवश्यक देखिन्छ ।’
प्रभु बैंकका एकैदिन दुई नयाँ शाखा सञ्चालन
काठमाडौं । प्रभु बैंकले एकैदिन ३०८ औं र ३०९ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा ३०८ औं र धनकुटा नगरपालिका, वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको जनाएको छ । बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।