मौद्रिक नीति बाचन लगत्तै अर्थमन्त्रीलाई भेट्न पुगे गभर्नर, पौडेलले भने, ‘धन्यवाद’
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडले र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेलगत्तै गभर्नर अधिकारीले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् । साथै अर्थमन्त्री पौडेलले गभर्नर अधिकारीलाई धन्यवाद दिँदै मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्ने टिप्पणी गरेका छन् । ‘मौद्रिक नीति राम्रो छ, अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ,’ अर्थमन्त्री पौडेलले भने । उनका अनुसार मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउनेछ । साथै मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरूलाई समाधान गर्न सहजीकरण गर्ने उनको भनाइ छ । साथै थप लगानीका लागि मनोबल बढाउने खालको नीति आएको उनले बताए ।
कुमारी बैंकका ग्राहकका परिवारले बुद्ध एयरमा छुट पाउने
काठमाडौं । कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ । बैंक र बुद्ध एयरबीच कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी)को लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेविट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानुपर्ने बैंकले बताएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
ज्योति विकास बैंकद्वारा ज्योति गट ट्यालेन्टको प्रथम संस्करण आयोजना
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले ज्योति गट ट्यालेन्टको पहिलो संस्करण आयोजना गरेको छ । बैंकका देशभरीका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका कर्मचारीका साथै कर्मचारीका परिवारका बालबालिकाहरुको सहभागितामा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। ‘ज्योति गट ट्यालेन्ट २०२४’ मा कर्मचारीहरुको लागि ‘नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला र कविता’ गरि पाँच विधा राखिएको थियो भने बालबालिकाहरूका लागि ‘नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला, जादू, हस्तलेखन, र कविता’ गरि सात विधाहरु समावेश गरिएको थियो, जसमा प्रतियोगीहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त खुला आन्तरिक प्रतिस्पर्धात्मक प्रतियोगिताका विजेताहरू गत साउन ९ गते बैंकको १६औं वार्षिकोत्सव समारोहको अवसरमा घोषणा गरिएको थियो । विजेताहरुलाई बैंकका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालद्वारा बधाई ज्ञापन गरेका थिए । यस कार्यक्रममार्फत, बैंकले कर्मचारीहरूको रचनात्मक सिप प्रवर्द्धन, आत्मविश्वासको अभिवृद्धि, र बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै प्रतिभा उजागर गर्ने लक्ष्य राखेको छ । यो कार्यक्रमले बहुप्रतिभाले सुसज्जित कर्मचारी र उनीहरूको वालवालिकाको प्रतिभाको प्रस्फुटन हुने उचित अवसर प्रदान गरेको छ । बैंकिङ सिपका अलावा, बैंकका कर्मचारी वर्गमा रहेका अन्य विशिष्ट सिपलाई उजागर गर्ने र प्रोत्साहन गर्ने अवसरको रूपमा यो प्रतियोगिता आयोजना गरिएको हो । संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।