ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्डमा १० प्रतिशत बोनस

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई किक फन वल्र्डबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकको ग्राहकहरुले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानीको लागी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउनेछ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको बैंकले जनाएको छ ।

आवेदन यथावत राखि मातृभूमि लघुवित्तले दोस्रोपटक माग्यो सीईओ

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले दोस्रो पटक प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन आह्वान गरेको छ । यसअघि आवेदकहरूले दिएका आवेदन यथावत राखि समय थप गरी पुनः सीईओका लागि दरखास्त आह्वान गरेको हो । यसअघि गत साउन २ गते आवेदन आह्वान गर्दै साउन ९ गतेसम्म सीईओका लागि आवेदन आह्वान गरेको थियो । तर, सो अवधिमा परेका आवेदनको सुनुवाई नगर्दै पुनः दोस्रोपटक सीईओका लागि आवेदन आह्वान गरेको हो । अब लघुवित्तको सीईओ बन्न इच्छुक व्यक्तिले साउन २१ गतेसम्म आवेदन दिनुपर्नेछ । इच्छुक योग्य व्यक्तिले निवेदनका साथ हालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहित दरखास्त आवेदन दिन लघुवित्तले आग्रह गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सो भन्दा माथिको तहमा रही कम्तिमा १० वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्नेछ । लघुवित्तको सीईओका लागि आवेदन दिँदा ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ । तलब तथा अन्य सुविधा आपसी समझदारीमा तय गरिने लघुवित्तले जनाएको छ । लघुवित्तका अनुसार व्यावसायिक योजना, प्रस्तुतिकरण तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिनेछ । रितपुर्वक प्राप्त दरखास्तमध्ये शैक्षिक योग्यता तथा कार्यानुभका आधारमा सर्टलिष्टमा परेका आवेदकहरूलाई मात्र संस्थाको व्यवसायिक योजना, प्रस्तुतिकरण र अन्तर्वार्तामा सामेल गराईनेछ ।

सिद्धार्थ बैंकका ग्राहकलाई दूसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र दूसित प्रिन्सेस काठमाडौंबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित दूसित प्रिन्सेस काठमाडौंमा बैंकको कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।