बीमा सुधारका लागि डा. शम्भु आचार्यको नेतृत्वमा सुझाव समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेका हुन् । समितिमा विकास अर्थशास्त्री तथा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेसँगै वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा. भगवान कोइराला सदस्य छन् । यसैगरी, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहनेछन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत समितिको सदस्य तोकिएको छ । समितिलाई विद्यमान स्वास्थ्य बीमाको कानुनी अवस्था, सेवाप्रवाहलगायतका विषयका सबल र दुर्बल पक्षबारे विश्लेषणसहितको प्रतिवेदन दिन कार्यादेश दिइएको छ । यसैगरी, नेपालमा हाल कार्यान्वयनमा रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीबाट प्रवाह हुने गरी स्वास्थ्य बीमा कार्यक्रममार्फत लैजान सुझावसहितका उपाय सुझाउन पनि भनिएको छ । समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकको आबद्धता बनाउन सम्भाव्य उपायबारेसमेत सुझाव दिने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनको जेनेभास्थित रणनीति र सहयोग एकाइको महानिर्देशक रहिसकेका आचार्यसँग संगठनमा विभिन्न भूमिकामा तीन दशक बढी काम गरिसकेको अनुभव छ । उनी हालै मात्र नेपालका तर्फबाट विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा उम्मेदवार रहिसकेका छन् । जनस्वास्थ्य सुधारका लागि विभिन्न देशहरुलाई सुझाव प्रदान गरिसकेका आचार्यको अनुभव देशको स्वास्थ्य बीमा सुधारका लागि उपयोग गर्ने अपेक्षा गरिएको मन्त्री पौडेलले बताए । ‘स्वास्थ्य बीमामा सुधार गरेर आम नागरिकको पहुँचमा ल्याउने बनाउने हाम्रो प्रमुख उद्देश्य हो,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमामा सबै नागरिकलाई जोड्ने गरी समस्या समाधानसहितको सुझावलाई कार्यान्वयनमा लैजानेछौं ।’ मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य बीमाको रकम ५ लाखसम्म पुर्‍याउने घोषणा गरेका थिए । मन्त्री पौडेलले बीमा सुधारका स्रोत थप्न सकिने अवधारणा प्रस्तुत गरेका थिए । सोहीअनुसार विज्ञहरूको सुझाव लिन भन्दै मन्त्री पौडेलले समिति गठन गरेका हुन् । आइतबार समितिको पहिलो बैठक बसेको छ । आफूहरुले स्वास्थ्य बीमाका अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययनसँगै देशको अभ्यास र कठिनाइहरुबारे अध्ययन गरेर सुझाव दिने संयोजक आचार्यले बताए ।

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.७५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्न कात्तिक ११ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा बोलाएको अध्यक्ष आशिष सुवेदीले जानकारी दिए । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ११ लाख रुपैयाँ हुनेछ । कम्पनीको सभाले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

मुक्तिनाथ क्यापिटलको १५औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ७.५ प्रतिशत लाभांश वितरण गरिने

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडका सेयरधनीहरूको १५औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडाैंमा संस्थाका अध्यक्ष श्री समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हाे । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात र साेही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेकाे थियाे । त्यस्तै, सभामा सेयरधनीलाई चुक्ता पूँजीमा ७.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित भएकाे छ । उक्त साधारणसभाले आव २०८१/०८२ को लेखापरीक्षण गर्नका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।