स्ट्यान्डर्ड चार्टर्ड र छिमेक लघुवित्त वित्तीय संस्थाबीच ऋण सम्झौता
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले एसियाली विकास बैंक (एडीबी) सँगको सहकार्यमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ऋण सहयोग गरेको छ । नेपालको एक प्रमुख लघुवित्त संस्था छिमेकलाई गैरवित्त जोखिम साझेदारी सम्झौता अन्तर्गत ऋण सहयोग उपलब्ध गराउने सहमति भएको स्टयान्डर्ड चार्टर्डले जनाएको छ । यसखालको सम्झौता नेपालमै पहिलो पटक भएको बैंकले जनाएको छ । सम्झौता अनुसार उपलब्ध हुने ऋण ग्रामीण भेगमा वित्तीय पहुँच थप बलियो बनाउन उपयोग हुने तथा यसपछि अन्य नवीन काममा पनि ऋण उपलब्ध गराइ सिमान्तकृत समुदायको आर्थिक वृद्धिमा बढावा दिन सहयोग पुग्ने छ । ऋण आदान–प्रदान सम्झौता कार्यक्रममा एडीबीका कन्ट्री डाइरेक्टर, अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल, छिमेक लघुवित्तको व्यवस्थापन समूह, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लगायत अधिकारीहरू उपस्थित थिए । ‘एडीबीको लघुवित्त कार्यक्रम अन्तर्गत वित्तीय समावेशिता र लैंगिक भेदभाव हटाइ नेपालका सिमान्तकृत र पिछडिएका महिलाहरूको आर्थिक स्थिति उकास्न यसखालको ऋणले उल्लेख्य सहयोग गर्ने विश्वास छ,’ एडीबीका कन्ट्री डाइरेक्टर आर्नौड कर्कोइसले भने, ‘हाम्रो लघुवित्त कार्यक्रम अन्तर्गत नेपालमा छिमेक लघुवित्त पहिलो साझेदार बनेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालसँग साझेदारी गर्दै नेपालको गरिबी निवारणमा सहयो गर्न पाउँदा औधी खुसी छौं ।’ छिमेक लघुवित्तका सीईओ दीपकनिधि तिवारीले यो ऋण सहयोग नेपालका ग्रामीण भेगमा रहेका सिमान्तकृति समुदायको आर्थिक स्तर उकास्न उपयोग गरिने बताए । त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले नेपालका सिमान्तकृत समुदायको आर्थिक उन्नतिका लागि बैंकले काम गर्दै आएको र भविष्यमा यस्ता कार्यक्रमलाई थप बढाउँदै लाने जानकारी दिए ।
ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौंका ४ वटा रेस्टुरेन्टमा छुट
काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरूलाई काठमाडौंका ४ विभिन्न रेस्टुरेन्टहरूमा विशेष छुट हुने भएको छ । बैंकले काठमाडौंमा रहेका चार विभिन्न प्रख्यात रेस्टुरेन्टहरूमा बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत, बैंकले कमलपोखरीस्थित अचार घर दरबारमार्गस्थित महोत्सव रेन्टुरेन्ट एण्ड बार हात्तीसारस्थित नेपाल हाउस एण्ड रेन्टुरेन्ट बार तथा कमलादीस्थित क्याफे लाइन हार्ट तन्दुरी किचेनमा बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन् । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, ग्राहकहरूले एक वर्षको अवधिसम्म यी रेस्टुरेन्टहरूमा स्वादिष्ट परिकारहरूको साथ छुटको लाभ उठाउन पाउने बैंकले जनाएको छ ।
कुमारी बैंक र ट्रष्ट माइक्रोबीच सम्झौता, सजिलो तरिकाले लघु बीमा सेवा प्रदान गर्ने
काठमाडौं । कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता भएको छ । बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच ग्राहकहरूलाई सहज तवरले लघु बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हाे । ट्रष्ट माइक्रो इन्स्योरेन्ससँगको सम्झौतामा अब कुमारी बैंकले ग्राहकहरूको घर, सवारी साधन, व्यवसाय साथै अन्य सम्पत्तीहरूको सरल तरिकाले लघु बीमा गराउन सक्नेछन् । लघु बीमा विशेष गरी न्यून आय भएका व्यक्तिहरूको आर्थिक सुरक्षाको लागि र अनिश्चित परिस्थितिहरूबाट जोगिनका लागि हो । लघु बीमाले ग्राहकहरूलाई आर्थिक घाटाको सामाना गर्न र कुनै कारणबस भएको क्षतीलाई पुनः प्राप्ति गर्न मद्दत दिलाउँने कम्पनीको भनाई छ । नेपालका नागरिकलाई किफायती र सुलभ लघु बीमाका साथ सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै, नेपालमा अग्रणी भुमिका खेल्दै गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले अघिल्लो सालबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले बताएको छ ।