नेपाल माइक्रो र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ५ अंकले घटेर २६७० बिन्दुमा झरेको छ । आज ११३ कम्पनीको मूल्य बढ्दा १३१ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।  बिहीबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ३५ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३५ करोड, हिमालयन रिइन्स्योरेन्सको ३० करोड, सीइडीबी होल्डीङसको २९ करोड र न्यादी गुप्रको २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बिहीबार अधिकांश सेक्टरका सूचक घटेका छन् । सबै सेक्टरको उतारचढाव १ प्रतिशतमुनि रहेकाे छ । बैंकिङ ०.०९, फाइनान्स ०.४९, होटल तथा पर्यटन ०.४१, लगानी ०.२९, जीवन बीमा ०.३२, उत्पादन ०.८७, निर्जीवन बीमा ०.२०, अन्य ०.९० र व्यापार सेक्टर ०.११ प्रतिशतले घटेकाे छ । माइक्रोफाइनान्स ०.३८, हाइड्रोपावर ०.०९ र विकास बैंक सेक्टर ०.०३ प्रतिशतले बढेकाे छ ।

होटल ईच्छाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौं । बाराको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि होटल ईच्छाले हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा होटलका सीईओ रेवन्त प्रसाद धौभडेल र हिमालयन क्यापिटलका सीईओ परमेश्वर पन्तले हस्ताक्षर गरे । सम्झौतापत्रमा संस्थापक अध्यक्ष ईच्छा बहादुर वाग्ले, सञ्चालक मुनसन वाग्ले, शेयरधनी लालकाजी खड्का, गोकर्ण खतिवडा, सञ्जोग बिक्रम कुवँर तथा हिमालयन क्यापिटलका प्रमुख सञ्चालन अधिकृत राम प्रसाद भट्टराई समेत उपस्थित थिए । २०० करोड अधिकृत पुँजी र १५० करोड जारी पुँजी रहेको होटल ईच्छाले जारी पुँजीको २० प्रतिशत, अर्थात् ३० करोड रुपैयाँ बराबरका ३० लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो । २०७४ सालमा बाबा रामदेवबाट उद्घाटन गरिएको होटल ईच्छा २०७९ सालमा मधेश प्रदेशकै पहिलो पाँचतारे होटलको मान्यता प्राप्त गर्न सफल भएको हो । आर्थिक वर्ष २०८०/८१ को श्रावण १ गतेदेखि यो होटल पब्लिक कम्पनीको रूपमा सञ्चालनमा आएको छ । व्यक्तिगत लगानीबाट सुरु गरिएको होटलले अहिले विभिन्न व्यवसायीक घरानाका व्यक्तिहरूलाई प्रवर्द्धकका रूपमा समेट्दै १२० करोड रुपैयाँ चुक्ता पुँजी बनाइसकेको छ । ५ विगाहाभन्दा बढी क्षेत्रमा फैलिएको होटलमा सुविधा सम्पन्न १०० कोठा, स्वीमिङ पुल, स्पा, क्यासिनो, क्लब हाउस, ब्याङ्क्वेट हललगायत सेवा-सुविधा उपलब्ध छन् । यस आर्थिक वर्षमा वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डमा अनुमति लिई, आगामी वर्षभित्र सर्वसाधारणमा सेयर निष्कासन गर्ने योजना रहेको प्रमुख प्रवर्द्धक वाग्लेले जानकारी दिए । हाल सञ्चालनमा रहेको मिनी क्यासिनोलाई स्तरीय बनाउन नयाँ भवन निर्माण कार्य अघि बढाइएको छ । पाँचतारे क्यासिनो सेवा छुट्टै भवनबाट सञ्चालन गरिनेछ । भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहसँग सहकार्य गर्दै होटलको सञ्चालन जिम्मा दिने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । सोही अनुसार होटलको स्तरीकरण र रिनोभेसन कार्य तीव्र रूपमा भइरहेको छ । भारतको बिहार प्रदेशबाट डेस्टिनेशन म्यारिजका लागि परिचित यो होटलमा वार्षिक ३०–४० विवाह कार्यक्रमहरू सञ्चालन हुन्छन् । साथसाथै, क्यासिनो सेवा लिन आउने भारतीय पर्यटकहरूको हब पनि बन्दै गएको छ । सडक र हवाई मार्गबाट भारतसँगको दूरी नजिक भएकाले होटल भविष्यमा भारत–नेपाल ट्रान्जिटको मुख्य केन्द्र बन्ने सम्भावना रहेको र त्यसैले पाँचतारेमा स्तरोन्नती गरिएको वाग्लेले बताएका छन् ।

यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रुपैयाँ १३ पैसा कायम भएको छ ।  केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ दुई पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४७ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६१ रुपैयाँ ०६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर कन्द्रीय बैङ्कका ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।