एरो फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई
काठमाडौं । एरो फर्मास्युटिकल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो । यस कार्यका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । सो सम्बन्धमा बिहीबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक समारोहमा, एरो फर्मास्युटिकल्सका सञ्चालक समितिका अध्यक्ष उद्धव प्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले औपचारिक सेयर निष्कासन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । एरो फर्मास्युटिकल्सको अधिकृत पुँजी १ अर्ब रुपैयाँ र जारी पुँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको मुख्य कार्यालय काठमाडौं महानगरपालिका–३, बसुन्धरामा रहेको छ भने औषधि उत्पादन गर्ने कारखाना भक्तपुरको सुडालमा अवस्थित छ ।
यी हुन् बीमाबारे उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सात सुझाव
काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले बीमा क्षेत्रको लागि विभिन्न सात बुँदे सुझाव दिएको छ । जसमा आयोगले जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था गर्ने सुझाव दिएको छ । सहरी क्षेत्रमा घर निर्माणको नक्सा स्वीकृत गर्दा अनिवार्य रूपमा घरको बीमा गर्ने व्यवस्था गर्ने र बीमा प्रिमियम तिरेको रकम करयोग्य सम्पत्तिको मूल्य निर्धारण घटाउने व्यवस्था गर्ने सुझाव आयोगले दिएको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरूसँगको सहलगानीमा बीमा बीमा एकेडमी स्थापना गर्नुपर्ने सुझाव आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, बीमा कम्पनीहरूले लामो अवधिको वित्तीय साधन परिचालन गरेका तर लगानीको उपयुक्त वित्तीय उपकरण नपाएको स्थितिमा बीमा कम्पनी लक्षित गरी उच्च प्रतिफल दिने पूर्वाधार आयोजनाहरूको लागि पूर्वाधार बण्ड जारी गर्ने व्यवस्था गर्न सुझाव दिएको छ । आयोगले दिएको अर्को सुझावमा बीमाको प्रिमियम शुल्क प्रतिस्पर्धात्मक रूपमा बजारमा निर्धारण हुने व्यवस्था गरी बीमाको दायरा बढाउने, बीमाको पहुँच बढाउन बीमासम्बन्धी साक्षरता तथा ज्ञान बढाउन सबै सरोकार लाग्नुपर्ने उल्लेख गरिएको छ । बीमा प्राधिकरणको स्वात्तता, दक्षता, क्षमता र सुशासन बढाउन सरकारी सहयोग पुर्याउने र कृषि तथा पशुबीमा अनुदान संघीय तहबाट नभई स्थानीय तहबाट दिने व्यवस्था गर्नु उपयुक्त हुने सुझाव आयोगको छ ।
राजावादी हुलदंगाको क्षतिमा साढे ५ करोडको दावी, शिखरले मात्रै गर्यो भुक्तानी
काठमाडौं । गत चैत्र १५ गते राजावादी समर्थकहरूले गरेको आन्दोलनमा भएको हुलदंगाका कारण भएको क्षतिमा शिखर इन्स्योरेन्सले क्षतिमा परेको सम्पूर्ण दाबीको भुक्तानी गरेको छ । कम्पनीले ५ वटा दाबीमा ४ लाख ९८ हजार २१३ रुपैयाँ भुक्तानी गरेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चैत्र २६ गतेसम्ममा १२ निर्जीवन बीमा कम्पनीमा ५ करोड ४९ हजार ४२१ रुपैयाँको ५० वटा दाबी परेको छ । जसमा सबैभन्दा धेरै रकमको दाबी राष्ट्रिय बीमा कम्पनीमा परेको छ । उक्त कम्पनीमा १ करोड २७ लाख रुपैयाँको २ वटा दाबी परेको छ । धेरै दाबी पर्ने दोस्रो कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स परेको छ । सिद्धार्थमा १ करोड १७ लाख ९५ हजार रुपैयाँको ९ वटा दाबी परेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७५ लाख ४९ हजार ४१३ रुपैयाँको ७ वटा दाबी परेको छ । त्यस्तै, नेको इनस्योरेन्समा ५२ लाख रुपैयाँको ४ वटा, ओरिएन्टल इन्स्योरेन्समा ४७ लाख ५० हजार रुपैयाँको एउटा, हिमालयन एभरेष्ट इन्स्योरेन्समा २२ लाख रुपैयाँको २ वटा, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार रुपैयाँको ११ वटा दाबी परेको प्राधिकरणको तथ्यांक छ । त्यसैगरी, आईजीआई प्रुडेन्सियलमा १७ लाख ६० हजार रुपैयाँकाो ६ वटा, नेपाल इन्स्योरेन्समा ८ लाख ७१ हजार रुपैयाँको एउटा, सानिमा जीआईसी इन्स्योरेन्समा ६ लाख रुपैयाँको एउटा र प्रभु इन्स्योरेन्समा ५० हजार रुपैयाँको एउटा दाबी परेको छ । क्षतिको दाबी परेको १२ कम्पनीमध्ये भुक्तानी गर्ने कम्पनी शिखर मात्रै हो । अन्य ११ कम्पनीले दाबी रकम भुक्तानी गरेका छैनन् । सबैभन्दा बढी दाबी सम्पत्ति बीमाको गत चैत्र १५ गते भएको राजावादीहरूको प्रदर्शनीमा भएको क्षतिबाट सबैभन्दा बढी बीमा कम्पनीमा सम्पति बीमाको दाबी परेको छ । १२ कम्पनीमा ३ करोड १९ लाख ५२ हजार ६१४ रुपैयाँ बराबरको २१ वटा बीमा दाबी परेको छ । त्यसपछि दोस्रोमा मोटर बीमा (निजी) को दाबी परेको देखिन्छ । कम्पनीहरूमा १ करोड ६ लाख ४५ हजार रुपैयाँको २२ वटा दाबी परेको छ । त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिमको ३७ लाख, मोटर बीमा सार्वजनिक २७ लाख ५० हजार रुपैयाँ र विविधमा १० लाख १ हजार १३० रुपैयाँको बीमा दाबी परेको छ ।