राष्ट्र बैंकका कार्यकारी निर्देशक उप्रेती एनसीएचएलको अध्यक्षमा नियुक्त
काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । बिहीबार सम्पन्न औपचारिक कार्यक्रममा उप्रेतीले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए । उप्रेतीले राष्ट्र बैंकको विभिन्न विभागमा २७ वर्षभन्दा बढी समय सेवा दिएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री हासिल गरेका उप्रेती हाल राष्ट्र बैंकको गैर-बैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको रूपमा कार्यरत छन् ।
राष्ट्रिय बीमा कम्पनी र विशाल बजारलाई कारवाही गर्न निर्देशन, नेप्सेसँग मिलेमतोको आशंका
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले विशाल बजार र राष्ट्रिय बीमा कम्पनीलाई कारवाही गर्न निर्देशन दिएको छ । ती दुई कम्पनीले हालसम्म लेखापरीक्षण नगरेको र लगानीकर्तालाई कम्पनीको वित्तीय अवस्थाको बारेमा जानकारी नगराएको भन्दै महालेखाले नेप्सेलाई कारवाही गर्न निर्देशनसहितको राय दिएको हो । सूचीकरण नियमावली अनुसार सूचीबद्ध कम्पनीहरूले वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र तथा त्रैमासिक प्रतिवेदन ३० दिनभित्र नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा अपलोड गर्नुपर्ने व्यवस्था छ । तर, नेप्सेले उक्त नियम पालना नगर्ने कम्पनी विरुद्ध कुनै कारबाही नगरेको महालेखाले उल्लेख गरेको छ । यस्ता कम्पनीको कुल कारोबार यो वर्ष १ अर्ब ५८ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनीले पटक-पटक नियम उल्लङ्घन गरेतापनि नेपाल स्टक एक्सचेञ्जले कारबाही नगरेको प्रतिवेदनमा उल्लेख छ । विशाल बजार कम्पनीले लेखापरीक्षण भएको वित्तीय विवरण राख्नुपर्ने ठाउँमा २०८१ मंसिर १४ मा लेखापरीक्षण नभएको वित्तीय विवरण अपलोड गरेको देखिएको छ । नियमावलीको पालना नगर्ने उपर आवश्यक कारबाही गर्नुपर्ने राय महालेखाको छ ।
१० महिनामा १४ खर्बको आयात, २ खर्बको निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन-वैशाख) सम्ममा आयात १४ खर्ब ७४ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३.११ प्रतिशत बढी हो । यो अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन नेपालको इतिहासमा सर्वाधिक निर्यात हो । चालु आवको १० महिनामा कम्पनीहरुले गरेको निर्यात गत आर्थिक वर्षको १० महिनाको तुलनामा ७३ प्रतिशतले बढी हो । २०७८/७९ मा २ खर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । चालु आवको १० महिनामा कुल १६ खर्ब ९२ अर्ब ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । वैदेशिक व्यापारको वृद्धिदर गत आवको तुलनमा १८.३७ प्रतिशत रहेको छ । १० महिनामा व्यापारघाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ६.७२ प्रतिशत हो।