हिम स्टार उर्जाको आईपीओ बाँडफाँड सम्पन्न, आयोजना प्रभावित र वैदेशिक रोजगार श्रमिकलाई सेयर वितरण

काठमाडौं । हिम स्टार उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको  प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ ।  एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा उक्त आईपीओ बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर बिक्रीका लागि जेठ ३० गतेदेखि आईपीओ खुला गरेको थियो । माग भन्दा बढी आवेदन असार १३ गतेमै प्राप्त भएपछि सो दिनमै निष्कासन बन्द गरिएको थियो । आयोजना प्रभावित क्षेत्रमा १ हजार २९ जना आवेदकबाट ३ लाख ९९ हजार ७४० कित्ता सेयरका लागि आवेदन परेका थिए । बाँडफाँड प्रक्रियामा १० देखि २३० कित्ता माग गर्ने ५५४ आवेदकलाई मागबमोजिम ७० हजार १०० कित्ता र २५० देखि ५१०० कित्ता माग गर्ने ४७५ आवेदकलाई प्रति आवेदक २४० कित्ता दरले १ लाख १४ हजार कित्ता सेयर वितरण गरिएको हो । बाँकी २,४०० कित्ता सेयरका लागि २५० कित्ता भन्दा बढी माग गर्ने ४७५ जनामध्ये २४० जनालाई गोलाप्रथा विधिबाट थप १० कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको ९३ हजार २५० कित्ता साधारण सेयर असार ३० देखि असार १३ गतेसम्म खुला गरिएको थियो । उक्त सेयरका लागि ७१ हजार २१७ आवेदकबाट १३ लाख ८१ हजार १४० कित्ता सेयरको आवेदन परेकोमा, विभिन्न कारणले १० हजार २५१ जनाका २ लाख ८३ हजार ९० कित्ता आवेदन रद्द भएको थियो । त्यसपछि बाँकी ६० हजार ९६६ जनाका १० लाख ९८ हजार ५० कित्ता सेयर आवेदनलाई गोलाप्रथा अनुसार बाँडफाँड गरिँदा ६० हजार ९३२ जनालाई प्रति आवेदक १० कित्ताका दरले ९ हजार ३२५ जनालाई ९३ हजार २५० कित्ता सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको पहिलो एभरेष्ट क्लब विजेता घिमिरे सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको क्लब योजनामध्ये सर्वोच्च स्तरको 'एभरेष्ट क्लब' मा पहिलो पटक पुग्न सफल भएकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का, उच्च व्यवस्थापन टोली, विभागीय प्रमुखहरू, कम्पनीका कर्मचारी तथा लक्ष्मी घिमिरेका परिवारजनको समेत उपस्थिति रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत खड्काले भने, ‘यो सम्मान केवल ‘एभरेष्ट क्लब’ मा प्रवेशको मात्र नभई, जीवन बीमा व्यवसायमा देखाएको निष्ठा, लक्ष्यप्रतिको प्रतिबद्धता र निरन्तर परिश्रमको सच्चा सम्मान हो ।’ कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्दै आएको र यसमार्फत सम्पूर्ण अभिकर्तालाई थप प्रेरणा र ऊर्जा प्रदान गर्ने उद्देश्य लिएको बताइएको छ । लक्ष्मी घिमिरेको यो उपलब्धिलाई कम्पनीले नयाँ प्रेरणाको स्रोतको रूपमा लिएको छ । परिवारको साथसाथै कम्पनीको समर्थनले बीमा व्यवसायमा महिलाको भूमिका थप सशक्त बनाउँदै लैजाने विश्वाससमेत व्यक्त गरिएको छ ।

मौद्रिक नीति यी तीन पक्षमा केन्द्रित हुनुपर्ने सीएनआईको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव दिएको छ ।  शुक्रबार राष्ट्र बैंककमा आयोजित एक कार्यक्रममा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले राष्ट्र बैंकका गभर्नर विश्व पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गरे । परिसंघका अनुसार हालको आर्थिक मन्दीबाट मुलुकलाई पुनः लयमा फर्काउन मौद्रिक नीतिले निर्णायक भूमिका खेल्नुपर्ने आवश्यकता छ । परिसंघले राष्ट्र बैंकलाई पेश गरेको सुझावपत्रमा भनिएको छ, ‘विगत तीन वर्षदेखि नेपाली अर्थतन्त्र जटिल परिस्थितिबाट गुज्रिरहेको छ । पछिल्ला केही महिनामा बजार मागमा आंशिक सुधार देखिए पनि आर्थिक गतिविधि अझै सामान्य स्थितिमा फर्किएको छैन ।’ परिसंघको पछिल्लो ‘इन्डष्ट्रियल स्टाटस रिपोर्ट’ अनुसार हाल बजार माग १९ प्रतिशतले सुधारिएको देखिए पनि उद्योगहरूको सञ्चालन क्षमता अझै औसत ६२ प्रतिशतमा सीमित छ । गत वर्ष यो क्षमता ४० प्रतिशत मात्र थियो । यसले देखाउँछ कि आर्थिक गतिविधि अझै पूर्ण रूपमा पुनः सुचारु भइसकेको छैन । यसैगरी, परिसंघले ब्याजदर ऐतिहासिक रूपमा घटेको भए पनि कर्जा माग अत्यन्त न्यून रहेको उल्लेख गर्दै लगभग ६ खर्ब रुपैयाँबराबरको कर्जायोग्य रकम बैंक प्रणालीमै थन्किएको उल्लेख गरेको छ ।  बजारमा मागको कमी, निजी क्षेत्रको लगानीप्रतिको उदासीनता र सरकारी नीतिगत अनिश्चितताले गर्दा कर्जा प्रवाहमा उल्लेखनीय सुधार नआएको परिसंघको भनाइ छ । खासगरी राष्ट्र बैंकको मौद्रिक नीति यी तीन पक्षमा केन्द्रित हुनुपर्ने सुझाव परिसंघले दिएको छ ।  माग बढाउने नीति :  तत्कालको न्यून बजार मागलाई उकास्ने तथा आर्थिक गतिविधि सक्रिय बनाउने नीति आवश्यक । नीतिगत सुधार : मौद्रिक नीतिमा स्पष्टता, स्थिरता र पूर्वानुमान कायम गर्न सुधारात्मक उपायहरू अवलम्बन गर्नुपर्ने । संरचनागत सुधार : राष्ट्र बैंक स्वयंको संस्थागत दक्षता र प्रभावकारिता बढाउन संरचनागत सुधारमा पनि ध्यान दिनुपर्ने । परिसंघका अध्यक्ष अग्रवालले मौद्रिक नीतिको तयारी प्रक्रियामा निजी क्षेत्रका धारणा ग्रहण गरेकामा राष्ट्र बैंक र गभर्नरप्रति आभारसमेत व्यक्त गरेका छन् ।