मार्जिन कर्जा नीतिमा पुनरावलोकन हुने
काठमाडौं । धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कर्जा उपलब्ध हुने हालको व्यवस्थामा पुनरावलोकन हुने भएको छ । धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम तय गर्दै धितोपत्र कारोबारको लागि धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कर्जा उपलब्ध हुने हालको व्यवस्थामा पुनरावलोकन गरी सुधार गर्ने भएको हो । बोर्डकाअनुसार चालु वर्षमा पुँजी बजारको विकास विस्तारका लागि क्षेत्रगत औजारगत विविधता ल्याउनुका साथै नयाँ धितोपत्र औजारको तथा विकास तथा विस्तार गर्न गरिँदैछ । त्यसका लागि धितोपत्र बोर्डले सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्थालाई सहजीकरण गर्ने भएको छ । सरकारी संस्थानहरुमा सरकारले ऋणपत्रमार्फत लगानीको लागि वित्तीय साधन परिचालन गर्ने सहजीकरण गर्नेछ । त्यस्तै इन्ट्रा डे कारोबार, सेक्युरिटिज लेन्डिङ एण्ड बरोइङ्ग सम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था गर्ने, अक्सन मार्केटको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने, धितोपत्रको दोस्रो बजारमा कारोबारयोग्य औजारहरूको विविधिकरणका लागि डेरिभिट्भ्स औजारहरूको सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने योजना बोर्डले बनाएको छ । इक्युटी डेरिभेटिभ बजारको विकासको लागि आवश्यक पूर्वाधार बनाउनुका साथै कारोबार व्यवस्था मिलाउन सहजीकरण गर्दैछ । यस्तै बोर्डले चालु आर्थिक वर्षमा धितोपत्र बजारमा प्रणालीगत जोखिम न्युनीकरण गर्दै लगानीकर्ताको हित प्रवद्धर्न गरी धितोपत्र बजारमा जन विश्वास बढाउने नीति लिएको छ । जसअनुसार मर्चेण्ट बैंङ्कर, धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारी, सामूहिक लगानी कोष, सूचीकृत संगिठत संस्थाहरूले बोर्डमा पेश गर्नुपर्ने विवरणको ढाँचा लागू गर्ने, जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गर्ने, धितोपत्रको प्राथमिक निष्काशनमा आस्वा सदस्य बैंक वित्तीय संस्थाले सिडिएस एण्ड क्लियरिङ्ग लि. बाट एपीआई लिइ आवेदकको आवेदन तत्कालै सिस्टम भेरिफिकेसन हुनु व्यवस्था गर्दैछ । यसबाट आवेदन रकम रोक्का हुने वा सोहीअनुसार धितोपत्र बाँडफाट पश्चात फुकुवा हुने व्यवस्था मिलाइँदैछ । यस्तै, दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने नीति बोर्डले लिएको छ । त्यसका लागि लगानीकर्ता संरक्षण कोषलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि आवश्यक समन्वयात्मक कार्य गर्ने, सूचीकृत कम्पनीहरू वर्गीकरण व्यवस्थालाई सुधार गरी समसामयिक बनाउन विद्यमान कानूनी व्यवस्थालाई सुधार गर्न आवश्यक व्यवस्था गर्ने, सार्वजनिक निष्काशन गरी संकलन गरिएको रकम निष्काशनको उद्देश्य बमोजिम परिचालन भए/नभएको सम्बन्धमा अनुगमन गर्ने वार्षिक योजना धितोपत्र बोर्डले बनाएको छ । त्यस्तै, धितोपत्र कारोबार गर्दा सदस्य दलाल व्यवसायीले लगानीकर्ताको आदेश कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण व्याकअपको प्रभावकारी व्यवस्था भए नभएको सम्बन्धी अनुगमनको व्यवस्था गर्ने योजना छ । यस्तै, नियमित रुपमा बोर्डले धितोपत्र तथा वस्तु विनिमय वजार सम्वन्धी प्रचलित कानुन बमोजिम धितोपत्र बजार, वस्तु विनिमय बजार, केन्द्रिय निक्षेप सेवा, धितोपत्र व्यापारी, धितोपत्र दलाल, मर्चेन्ट बैंकर, योजना व्यवस्थापक तथा डिपोजिटरी, निक्षेप सदस्य, आस्वा सदस्य, क्रेडिट रेटिङ्ग संस्था, विशिष्टीकृत लगानी कोष व्यवस्थापक, सामुहिक लगानी कोष सुपरीवेक्षक, योग्य संस्थागत लगानीकर्ता लगायत धितोपत्र व्यवसाय गर्न अनुमतिपत्ररदर्ता प्रमाणपत्र प्रदान गर्ने तथा नवीकरण गर्ने योजना बोर्डको छ । धितोपत्र सम्वन्धी प्रचलित कानून बमोजिम धितोपत्र दलाल व्यवसायीहरुको शाखा विस्तार र आधिकारिक प्रतिनिधि नियुक्त गर्न स्वीकृति प्रदान गर्ने योजना समेत बोर्डले बनाएको छ ।
४ कम्पनीमा सकारात्मक सर्किट, १८ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २९ सय ८३ बिन्दुमा पुगेको छ । आज १२३ कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३२८ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ७७ करोड रुपेयाँ बराबरको कारोबार भएको छ । साथै, न्यादी गुप्रको ७१ करोड, ग्रीन भ्यान्चरको ६६ करोड, लुम्बिनी विकास बैंकको ५४ करोड र हिमालयन रिइन्स्योरेन्सको ५१ करोड रुपैयाँ बराबरको करोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वीट गंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
डिजिटल कारोबार प्रवर्द्धनका लागि सिटिजन्स बैंक र ई-स्पोटबीच सहकार्य
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नागपोखरीस्थित ई-स्पोट नेपालबीच डिजिटल कारोबार प्रवर्द्धन र ग्राहक सेवा सुदृढीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिटरक्रेडिट कार्डधारक, प्रिभिलेज कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले ई–स्पोट नेपालका सम्पूर्ण आउटलेटहरूमा ५ प्रतिशत ईभी चार्जिङ्गमा र ५ प्रतिशत फुडमा गरी कुल १० प्रतिशतसम्मको छुट पाउनेछन् । बैंकले यो सहकार्यलाई ग्राहकलाई नगद कारोबारबाट डिजिटल माध्यमतर्फ प्रोत्साहित गर्ने रणनीतिक कदमका रूपमा लिएको छ । साथै, डिजिटल कारोबारको प्रवर्द्धन गर्ने उद्देश्यले बैंक समय-समयमा यस्ता ग्राहकमैत्री अफरहरू ल्याउँदै आएको बताइएको छ । छुट सम्बन्धी थप जानकारी सिटिजन्स बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।