शरद ओझाको निलम्बनविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले निलम्बनविरुद्ध दायर गरेको रिट निवेदन सोमबार पनि सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट न्यायाधीशद्वय अब्दुल अजिज मुशलमान र मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको थियो । ओझाले सरकारद्वारा गठन गरिएको छानबिन समिति खारेज गरिनुपर्ने मागसहित निलम्बन फुकुवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र छानबिन समिति अध्यक्षसहित सदस्यहरूलाई विपक्षी बनाएका छन् । यसअघि न्यायाधीश अब्दुल अजिज मुशलमानले प्रारम्भिक सुनुवाइ गर्दै सरकारलगायत विपक्षी पक्षहरूलाई कारण देखाउ आदेश (शो-कज) जारी गरेका थिए । उक्त रिटको अर्को सुनुवाइ सोमबार तय भएको भए पनि समयाभावका कारण हेर्न नभ्याइनेमा परेको हो । सरकारले असार ३० गते ओझाको आचरण, पदीय मर्यादा र कार्यक्षमता सम्बन्धी विषयमा छानबिन गर्न समिति गठन गरेको थियो । सोही निर्णयसँगै ओझा स्वतः निलम्बनमा परेका थिए । शरद ओझा यस वर्ष फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकबाट नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । उनले खुला प्रतिस्पर्धामार्फत ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त पदमा नियुक्ति पाएका थिए ।

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बीच दन्त उपचार सेवामा छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सहकार्यअनुसार बैंकका ग्राहकले कान्तिपुर डेन्टलका विभिन्न शाखामा डिजिटल भुक्तानी गरी सेवा लिँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यसअन्तर्गत ग्राहकले जनरल हस्पिटल सेवामा १५ प्रतिशत, फिजिओथेरापी, आई ग्लास र जनरल डेन्टल सेवामा १० प्रतिशत तथा दाँतको विशेष उपचार सेवामा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् । यो सुविधा काठमाडौंको जोरपाटीस्थित केडीसी एस्थेटिक सेन्टर, पोखराको न्युरोडस्थित कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटल, साथै सतुंगल, भरतपुर (चितवन) र भलवारी तिलोत्तमा (बुटवल) स्थित शाखामा उपलब्ध छ । ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गरेपछि छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यो सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवामा सहज पहुँच र विशेष छुट दिलाउनुका साथै डिजिटल भुक्तानी प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट सम्पन्न, उत्कृष्ट स्टार एजेन्सीलाई सम्मान

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूका लागि विशेष कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय  प्रोत्साहनको कार्यक्रम  स्टार एजेन्सी मिट २०८२ सम्पन्न  गरेको हो ।  बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका अभिकर्तामध्ये प्रथम बिमाशुल्क सङ्कलन, बिमालेख सङ्ख्या र टिम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो ।   कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बिमा व्यवसायमा बिमा सल्लाहकारहरूको महत्त्व र  अपरिहार्यता माथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनिलाई अझै नयाँ उचाईमा पुर्याउनु पर्ने बताए ।  साथै कम्पनीले आव २०८१/८२ मा रु ७०० करोडको बिमाशुल्क सङ्कलन गर्न सफल भएकोमा  सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन पनि  गरे।  कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले बोल्दै अभिकर्ताहरूलाई आवश्यक सिप र कलाको बारेमा प्रस्ट परेका थिए ।   कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र  शाखा प्रमुख सहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।    त्यस्तै कौशलटार रिजनका उत्कृष्ट एजेन्सी म्यानेजर नमिता न्यौपाने, चाबहिल रिजनका रणबहादुर तामाङ्ग, बनेपा रिजनका नारायण बहादुर गुरुङ्ग र पाटन रिजनका योगेन्द्र महर्जनले आफूहरू उत्कृष्ट १ मा पर्न गरेको  मेहनतको चर्चा गर्दै यस वर्ष पनि उक्त पदलाई यथावत राख्ने लक्ष्य रहेको र त्यसै अनुरुप योजनासहित काममा परिचालित भएको बताए ।  कार्यक्रम ज्ञानबर्द्धक बनाउनको लागि नेपालका प्रख्यात स्पिकर सुदिप बस्नेतलाई  आमन्त्रित गरिएको थियो ।  उनले बिक्री कलाको लागि अति उपयोगी बानीको आवश्यकता र महत्त्वको बारेमा चर्चा गरेका थिए ।