काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १०.५२६३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
मंगलबार काठमाडौंको बौद्ध हेरिटेजमा सम्पन्न कम्पनीको २३औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो । पारित लाभांशमा लाभांश करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीका अनुसार साधारण सभाबाट पारित नगद लाभांश मंगलबार नै सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिनेछ ।
हाल आइसीएफसी फाइनान्सको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको छ । कम्पनीले २१ वटा शाखामार्फत १ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।
चालु आर्थिक वर्षको भदौ मसान्तसम्म कम्पनीले २२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।