काठमाडौं । विराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
यससम्बन्धी सम्झौता एनआईसी एशिया क्यापिटल र विराट एग्रीबीच सम्पन्न भएको हो । सम्झौताअनुसार क्यापिटलले विराट एग्रीलाई आईपीओ निष्कासनका लागि आवश्यक संस्थागत परामर्शसहितका सेवा उपलब्ध गराउनेछ ।
विराट एग्री मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक कृषि तथा मत्स्यपालन गर्दै आएको कम्पनी हो । कम्पनीले इटहरी–१३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको फिस फिड प्लान्ट सञ्चालन गर्दै आएको जनाएको छ ।
कम्पनीले प्रस्तावित सार्वजनिक सेयर निष्कासनबाट प्राप्त पूँजी उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको छ ।
विराट एग्रीले पाङ्गास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्ने तयारीसमेत गरेको छ । आधुनिक प्रविधिमार्फत माछा प्रशोधन, फिलेट उत्पादन, प्याकेजिङ तथा बजारीकरण गर्ने कम्पनीको योजना छ ।
त्यस्तै, माछा तथा पशुपन्छीका लागि पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक फिड प्लान्ट स्थापना गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
कम्पनीले माछा उत्पादनदेखि दाना उत्पादन, प्रशोधन, फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजारीकरणसम्मको प्रक्रियालाई एउटै एकीकृत व्यावसायिक प्रणालीमा जोड्ने योजना अघि बढाएको जनाएको छ ।
एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवामार्फत कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गर्नेदेखि आईपीओ निष्कासनसम्म आवश्यक परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।