२० हजारभन्दा बढी सहकारीको नियमनका लागि संयुक्त संयन्त्र गठन हुने
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारीहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) प्रभावकारी बनाउन सहकार्य गर्ने सहमति भएको छ । काठमाडौंमा सम्पन्न छलफल कार्यक्रममा सहकारी ऐन २०७४ मा भएका प्रावधानअनुसार बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन, अनुगमन, लेखापरीक्षण र सूचना आदानप्रदानका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा, विज्ञ सदस्य डा. रमेश चौलागाई, सदस्य सिए महेश खनाल, कार्यकारी निर्देशक शेषनारायण पौडेललगायतको उपस्थिति थियो । आइक्यान तर्फबाट अध्यक्ष सिए निलबहादुर सारु मगर, उपाध्यक्ष आनन्दराज शर्मा वाग्ले, पार्षद सदस्यहरु तथा कार्यकारी निर्देशक सहभागी भएका थिए । प्राधिकरणका पदाधिकारीहरूले २० हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी सुपरिवेक्षण तथा सदस्यहरूको बचत सुरक्षित गर्न संस्थाको सहयोग अपरिहार्य रहेको उल्लेख गरे । प्राधिकरणसँग संस्थागत र प्राविधिक क्षमता अभाव भएकाले आइक्यानसँग रोस्टर तयार गर्ने, शुल्क निर्धारण गर्ने, र सहकारी क्षेत्रमा वित्तीय प्रतिवेदन मानक लागू गर्न सहयोग आवश्यक रहेको धारणा राखियो । आइक्यान अध्यक्ष सारु मगरले दुवै नियामकीय निकायबीच समझदारीपत्र गरेर औपचारिक सहकार्य अघि बढाउन सकिने बताए । उनले संस्थाले आफ्ना सदस्यहरुलाई रोस्टरमा समावेश गरी सहकारीहरुको प्रुडेन्सियल अडिटमा संलग्न गराउन सक्ने तथा यसबाट प्राधिकरणको जनशक्ति र प्राविधिक क्षमतामा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको निष्कर्षमा आइक्यान र प्राधिकरणबीच निकट भविष्यमा समझदारीपत्र गर्ने, प्रुडेन्सियल अडिटलाई व्यवस्थित गर्ने, र आपसी सहकार्य तथा समन्वयका लागि विशेष संयन्त्र (स्टेरिङ कमिटी) गठन गर्ने सहमति भएको छ ।
मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण रोकथामका लागि सन नेपाल लाइफले दियो तालिम
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्न कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा एन्टी मनी लन्डरिङ तथा कम्ब्याटिङ द फाइनान्सिङ अफ टेररिजम सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र उप निर्देशक पदम प्रसाद सोडारीले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षकहरूले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्नेमा जोड दिएका थिए । तालिममा नारायणी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखा प्रमुखहरूको सहभागिता थियो । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईँसहित विभागीय प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।
धौलागिरी लघुवित्तको लक इन अवधी भदौ १९ गतेदेखि सकिँदै
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको संस्थापक तथा कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयरहरूको लक इन अवधि समाप्त हुने भएको छ । २०८२ भदौ १९ गतेदेखि लघुवित्तका संस्थापक तथा कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इनको समयावधि सकिने लघुवित्तले जनाएको छ । लघुवित्तले विसं २०७९ भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारण (कर्मचारीहरू समेत) मा सेयर निष्काशन तथा बिक्री खुल्ला गरी विसं २०७९ भदौ २० गते सेयर बाँडफाँट गरेको थियो । नेपाल धितोपत्र बोर्डले साधारण सेयर सार्वजनिक निष्काशन गरी बाँडफाँट गरिएको मितिदेखि ३ वर्षसम्म कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयर र संस्थापक सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । सोही बमोजिम लघुवित्तको संस्थापक र कर्मचारीहरूको सेयरको लकइन अवधि सकिन लागेको हो । लघुवित्तका अनुसार संस्थापकतर्फ २० लाख १ हजार कित्ता र कर्मचारीको १ हजार ५ सय कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । तर, राष्ट्र बैंकको व्यवस्था बमोजिम संस्थापक सेयर कारोबार भने सर्वसाधारणमा भने सेयर हुने छैन ।