प्रभु महालक्ष्मी लाइफको ‘क्लव एचिभर्स अवार्ड सेरेमोनी’ सम्पन्न, रविन्द्र ढाँटलाई १ लाख ११ हजार प्रदान

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २०८१/८२ सालको क्लव एचिभर्स अवार्ड सेरेमोनी पोखरामा भव्यताका साथ सम्पन्न गरेको छ । भाद्र १६ देखि १९ गतेसम्म चलेको चारदिने कार्यक्रममा देशभरिका उत्कृष्ट अभिकर्ता तथा उच्च व्यवस्थापकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति सदस्य समशेर पराजुलीले दीप प्रज्वलन गरेर गरेका थिए । सो अवसरमा उत्कृष्ट व्यवसाय गर्दै चेयरम्यान क्लव, सीइओ क्लव र कर्पोरेट क्लवमा स्थान पाएका अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो । सञ्चालक समिति सदस्य पराजुलीले बीमा क्षेत्रमा उल्लेखनीय योगदान दिएका अभिकर्तालाई बधाई दिँदै अझ उत्कृष्ट व्यवसायिक उपलब्धिमा पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरूको निरन्तर योगदानको प्रशंसा गर्दै भविष्यमा अझ प्रेरित भएर काम गर्न आह्वान गरे । यसै अवसरमा कम्पनीले मेट्रिक्स फाइट नाइट (एमएफएन) २०२५ का विजेता रविन्द्र ढाँटलाई नगद १ लाख ११ हजार १ सय ११ सहित सम्मान गर्‍यो । सम्मान ग्रहण गर्दै ढाँटले आफ्नो संघर्ष र सफलताको अनुभव सेयर गर्दै कम्पनीप्रति आभार प्रकट गरे । कार्यक्रममा सर्टिफाइड एनएलपी ट्रेनर एण्ड कोच मिन घलेले ‘व्यवहारिक बीमा बिक्रीकला’ विषयमा उत्प्रेरणादायी सेसन दिएका थिए । साथै, विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले समारोहलाई थप आकर्षक बनाएको थियो ।

गंगा हेल्थ केयरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । साना तथा मझौला कम्पनी श्री गंगा हेल्थ केयर इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारमा सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसै सन्दर्भमा, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा गंगा हेल्थ केयर इण्डष्ट्रिजको तर्फबाट अध्यक्ष सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पूँजीको ३० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई निष्काशन गर्ने जनाएको छ ।  

एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । एनआईसी एशिया क्यापिटलले नवौं वार्षिक साधारण सभा सम्पन्न गर्दै सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन अनुमोदन गरेको  छ। सभामा सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार राठीले २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको क्यापिटलले समीक्षा अवधिमा ३० करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी र ११ करोड ६४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको जानकारी दिए । उनका अनुसार आषाढ मसान्तसम्म ८ लाख डिम्याट खाता खोलिएको छ भने म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र १ वटा खुलामुखी गरी ५ योजना सञ्चालन गर्दै ५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिएको छ । लगानी व्यवस्थापन सेवामा ७२० ग्राहकबाट २ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन भइरहेको छ । सेयर रजिष्ट्रार सेवाअन्तर्गत २३ कम्पनीलाई सेवा दिइरहेको क्यापिटलले हालसम्म १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको जनाएको छ । कम्पनीले यसअघि सम्म सेयरधनीलाई कुल २९० प्रतिशत बराबरको लाभांश वितरण गरिसकेको छ ।