रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९औं वर्षमा प्रवेश

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापना दिवस अवसरमा आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ ।  कम्पनीले जीवन बीमा कारोबारको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक र जनजागरण कार्यक्रमहरू आयोजना गरेको हो । वार्षिकोत्सवमा महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरूमा रक्तदान तथा स्वास्थ्य शिविर, राजविराज, चितवन, सुन्दरबजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, बनेपा, इलाम शाखाहरूबाट विद्यालयलाई शैक्षिक सामग्री, वृद्धाश्रममा खाद्यान्न वितरण तथा सरसफाइ कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । केन्द्रीय कार्यालय, ज्ञानेश्वरबाट कर्मचारी र एडभाइजरहरूको सहभागितामा प्रभातफेरी समेत गरिएको थियो । सो प्रभातफेरि ज्ञानेश्वर–मैतीदेवी–डिल्लीबजार–पुतलीसडक–कृष्ण पाउरोटी हुँदै पुनः कार्यालयमा समापन गरिएको थियो । रिलायवल नेपाल लाइफले करिब ७० लाख बीमित, नियमनकारी निकाय, सेयरधनी, एडभाइजर, कर्मचारी तथा पत्रकार लगायत सबै सरोकारवालाप्रति आभार प्रकट गरेको छ । कम्पनीले ग्राहकमैत्री सेवा विस्तार गर्दै उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ५७ करोड नाफा आर्जन गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड पुगेको छ भने कुल लगानी करिब २० अर्बमा पुगेको छ । सोही अवधिमा कम्पनीले १ अर्ब ४३ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले १ अर्ब रकम संकलन गर्न सफल

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रवर्द्धन र लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले निर्धारित १ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ । यो फण्ड, लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलविद्युत, सौर्य, वायु उर्जा तथा अन्य नवीकरणीय स्रोतमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा योगदान पु‍र्‍याउने उद्देश्य यस फण्डले लिएको छ । लक्ष्मी सनराइज क्यापिटलले फण्डप्रति देखाइएको विश्वास र निरन्तर समर्थनका लागि सम्पूर्ण लगानीकर्ताप्रति आभार व्यक्त गरेको छ ।

२२८ कम्पनीको सेयर मूल्य घट्यो, ६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ घटेर २७४९ बिन्दुमा झरेको छ । आज २१ कम्पनीको सेयर मूल्य बढ्दा २२८ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै, हिमालयन रिइन्स्योरेन्सको २८ करोड, हिमालयन डिस्टीलरीको २६ करोड, नेपाल रिपब्लीक मिडियाको २१ करोड र पिपुल्स पावरको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशतले घटेको छ । बैंकिङ ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ तथा व्यापार ०.३८ प्रतिशतले घटेका छन् ।