बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जना प्रतिस्पर्धामा, को हुन् प्रबल दावेदार ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले आवेदन दिएका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । भदौ १३ गतेको निर्णयअनुसार समितिले आवेदन फाराममार्फत प्राप्त भएका विवरणहरू अध्ययन गरी १४ जनाको नाम सार्वजनिक गरेको हो । सिफारिस समितिले प्रकाशन गरेको सूचीमा ललितपुर, काठमाडौं, भक्तपुर, कास्की, झापा, मोरङ, लमजुङ र दाङसहितका जिल्लाका उम्मेदवार परेका छन् । सार्वजनिक नामसूचीमा परेका उम्मेदवारहरूः १. घनश्याम बुढाथोकी (ललितपुर) २. विक्रान्त पाण्डे (काठमाडौं) ३. पारस काफ्ले (भक्तपुर) ४. विष्णुबाबु मिश्र (काठमाडौं) ५. बुद्दकाजी श्रेष्ठ (काठमाडौं) ६. डा. दामोदर बसौला (कास्की) ७. चिन्तामणि शिवाकोटी (काठमाडौं) ८. ज्ञानेन्द्र अधिकारी (झापा) ९. देवकुमार ढकाल (मोरङ) १०. प्रा.डा. दीपक बहादुर भण्डारी (लमजुङ) ११. डा. राजेन्द्र पण्डित (काठमाडौं) १२. यज्ञप्रसाद न्यौपाने (दाङ) १३. रमेशकुमार भट्टराई (काठमाडौं) १४. महेश्वर न्यौपाने (भक्तपुर) अर्थ मन्त्रालयले प्रकाशित गरेको सूचनामा सिफारिस समितिबाट छनोटका लागि आवेदन दिएकामध्ये योग्य उम्मेदवारहरूको विवरण सार्वजनिक गरिएको र आवश्यक प्रक्रिया पूरा गरी समितिले अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्ने जनाएको छ ।
समृद्धि फाइनान्स इटहरी शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको इटहरी शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले इटहरी शाखाका ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा शाखाले आफ्नो तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धिहरू प्रस्तुत गरेको थियो । शाखा प्रमुखले ग्राहकहरूको साथ र विश्वासकै कारण शाखाले निरन्तर प्रगति हासिल गरेको जानकारी गराउँदै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी ग्राहकहरू र स्थानीय व्यक्तिहरूलाई आभार व्यक्त गर्दै, समृद्धि फाइनान्सले आगामी दिनमा अझ उत्कृष्ट सेवा र सहकार्यको अपेक्षा राखेको जनाएको छ । समृद्धि फाइनान्सको यो सफल यात्रा र आगामी योजनाहरूले वित्तीय सेवाको क्षेत्रमा अझ सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
नबिकेको २ लाख कित्ता नेपाल इन्स्योरेन्सले भदौ २७ गतेदेखि लिलामीमा राख्ने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले भदौ २७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७ अनुपातमा जारी गरेको हकप्रदमा आवेदन नपरेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त समयमा कम्पनीको संस्थापक सेयरधनी समूहतर्फ ४ हजार ४६८ कित्ता सेयर र सर्वसाधारण सेयरधनी समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता गरी कुल १ लाख ९७ हजार ४२ कित्ता सेयरमा भने आवेदन परेको थिएन । उक्त सेयर लिलाम बढाबढमा बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयर लागि आवेदन दिनु पर्नेछ । इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय लाजिम्पाट तथा चिप्लेढुङ्ग (पोखरा), ट्राफिकचोक (बुटवल), आदर्शनगर (वीरगंज) र गोल्छाचोक (विराटनगर) शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ ।