काठमाडौं । लघुवित्त वित्तीय संस्थाको शाखा संख्या पछिल्लो समय घट्दै गएको देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्त वित्तीय संस्थाको शाखा संख्या १.०२ प्रतिशतले घटेको थियो । गत आर्थिक वर्ष २०८२/८३ मा पनि शाखा संख्या ०.७५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार २०८२ असारमा लघुवित्तका ४ हजार ९६१ शाखा रहेकामा २०८३ असारसम्ममा घटेर ४ हजार ९२४ वटा मात्रै कायम छन् ।
राष्ट्र बैंकका अनुसार ५१ वटा लघुवित्त सञ्चालनमा रहेका छन् । तीमध्ये तीन वटा थोक कर्जा प्रदायक संस्था छन् भने बाँकी ४८ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था रहेका छन् ।
यसैबीच, लघुवित्त वित्तीय संस्थाका सदस्य संख्या भने बढेको छ । २०८२ असारको तुलनामा २०८३ असारमा सदस्य संख्या ४.९६ प्रतिशतले बढेर ६५ लाख ३० हजार पुगेको छ । २०८२ असारमा सदस्य संख्या ६२ लाख २१ हजार रहेको थियो ।
यस्तै, लघुवित्त वित्तीय संस्थाका कुल ऋणीको संख्या पनि सामान्य बढेको छ । २०८२ असार मसान्तमा २७ लाख ७ हजार कुल ऋणी रहेकामा गत आर्थिक वर्ष ०.२२ प्रतिशतले बढेर २०८३ असार मसान्तमा २७ लाख १३ हजार पुगेका छन् ।
राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीको संख्या पनि सामान्य बढेको छ । २०८२ असार मसान्तमा २१ हजार ७१७ जना कर्मचारी कार्यरत रहेकामा २०८३ असार मसान्तसम्ममा ०.३५ प्रतिशतले बढेर २१ हजार ७९२ पुगेका छन् ।