आइजीआई प्रुडेन्सियल र काठमाडौं नेशनल मेडिकल कलेजबीच क्यासलेस सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल (एसबी हेल्थ केयर प्रालि) बीच नगदरहित (क्यासलेस) सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार, आइजीआई प्रुडेन्सियलका बीमितहरूले अस्पतालमा उपचार गर्दा नगद रकम तिर्नु नपर्ने र बीमा कम्पनीले सो रकम सिधै अस्पताललाई भुक्तानी गर्ने व्यवस्था हुनेछ । यसले बीमितहरूलाई आकस्मिक अवस्थामा सहज उपचार प्राप्त गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ । सम्झौतामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका तर्फबाट जनरल म्यानेजर तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) शरण रेग्मी र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहान्गिर अन्सारीले हस्ताक्षर गरेका हुन् । आइजीआई प्रुडेन्सियलले देशभरका विभिन्न अस्पतालहरूसँग यस किसिमका सम्झौताहरू गर्दै आएको छ । जसको उद्देश्य बीमित ग्राहकहरूलाई सहज, द्रुत र विश्वासिलो स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताइएको छ ।
दशैंपछिको पहिलो कारोबारमा सेयर बजार उच्च अंकले घट्यो, सबै समूहका सूचक घटे
काठमाडौं । दशैंपछि खुलेको सेयर बजारमा उच्च अंकले गिरावट आएको छ । नेप्से परिसूचक ५८.५५ अंक (९२.१९ प्रतिशत) घटेर २६०४ अंकमा कायम भएको छ । कुल ४ अर्ब ६२ करोडको कारोबार भएको छ । आज १६ कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने एउटाको मूल्य स्थिर रहेको छ । सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा बढी ४.८३ प्रतिशतले घटेको छ । नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यस समूह बढी प्रभावित भएको छ । बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ र व्यापार १.१७ प्रतिशतले घटेको छ । भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । नेपाल पुनर्बीमाको ८.५७, माथिल्लो मैलुङखोलाको ७.२१ तथा पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ प्रतिशतले घटेको छ । आज ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । मूल्य धेरै बढ्नेमा सेन्चुरी डिबेन्चर १० प्रतिशत , एनआईसी एसिया ऋणपत्र ९.११ प्रतिशत र स्टान्डर्ड चार्टर्ड डिबेन्चर ९ प्रतिशत मूल्य वृद्धिसहित अगाडि छन् । धेरै कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट रहेका छन् ।
तरलता घटाउन ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले मंगलबार ९० अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो । ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । मंगलबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । अहिले कुल निक्षेप ७३ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालिन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।