ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैंकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता अनाधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना बैंकमा प्राप्त भएको उल्लेख गरेको छ । बैंकद्वारा बिहीबार प्रेस विज्ञप्तिमा भनिएको छ, 'बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै कुनैपनि प्रयोजनका लागि फोन, इमेल, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम् पिन, मोबाइल बैंकिङ तथा ई– बैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण मागिएको छैन ।' बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीद्वारा जारी सो विज्ञप्तिमा अनाधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न समेत अनुरोध गरिएको छ ।
आन्दोलनमा भएको क्षतिको बीमा दाबी रकम २३ अर्ब २२ करोड
काठमाडौं । हालैको आन्दोलनका क्रममा भएका भौतिक र अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा सो रकम दाबी गरिएको हो । निर्जीवन बीमा कम्पनीहरूले बुधबारसम्ममा अग्रिम भुक्तानीसहित करिब १ अर्ब २९ करोड १९ लाख रुपैयाँ वितरण गरिसकेका छन् । त्यस्तै, क्षतिको सर्भे प्रतिवेदन तयार गर्न २ हजार ७०६ जना सर्भेयर खटाइएको र तीमध्ये ३७४ सर्भे प्रतिवेदन प्राधिकरणमा पेश भइसकेको जानकारी प्राप्त भएको छ ।
नयाँ कर्मचारीले जीवन बीमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने
काठमाडौं । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बीमा ‘प्रिमियम’बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बीमा सुनिश्चित गर्न सकिने जनाएको छ । अन्यथा बीमा प्रिमियम रकम नपुगुञ्जेलसम्म बीमा नहुने कोषले स्पष्ट पारेको छ । नागरिक लगानी कोषले बीमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बीमा संस्थानमा बीमा रकम पठाई राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कोष सञ्चालन गर्दै आइरहेको छ ।