४४ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४ अंकले बढेर २५४७ बिन्दुमा पुगेको छ । आज ७० कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ । १६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३० कम्पनीको ९९ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् । आज अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशतले बढेको छ । बैंकिङ ०.२८, विकास बैंक १.४१, फाइनान्स १.०२, होटल तथा पर्यटन ३.३५, हाइड्रोपावर २.१०, लगानी २.२७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.४४ तथा व्यापार समूह २.८१ प्रतिशतले बढेका छन् । नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्रिविमा रहेका बैंक शाखाको भाडा समायोजन गर्न सुझाब
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले तयार पारेको प्रतिवेदनले बैंकका शाखा तथा काउन्टर कार्यालयलाई दिएको भाडादर समय सापेक्ष बनाउन सुझाव दिएको छ । विसं २०२६ मंसिर २२ गतेको रजिस्ट्रार कार्यालयको पत्रका आधारमा त्रिविका सम्पूर्ण कार्यालय, प्राध्यापक, कर्मचारी, त्रिविको निवृत्तिभरण भुक्तानीको सम्पूर्ण कार्य, विद्यार्थी लगायत अन्य सेवाग्राहीहरूलाई बैंकिङ सेवा प्रवाह गर्न नेपाल बैंकलाई जग्गा उपलब्ध गराएको थियो । उक्त जग्गा प्रयोग गरे बापत बैंकले हाल त्रिविलाई वार्षिक १६ हजार २९६ रुपैयाँ भाडा बुझाइ रहेको प्रतिवेदनमा उल्लेख छ । जग्गा प्रयोगको विषय विधि सम्मत प्रक्रिया पुरा गरेर समयसापेक्ष प्रचलित बजार भाउ वा काठमाडौं जिल्ला प्रशासनद्वारा तोकिएको भाडा दर कायम गर्दै जानुपर्ने प्रतिवेदनले औंल्याएको छ । यस्तै, नेपाल बैंकलाई बैंक काउण्टर सञ्चालनका लागि विसं २०७५ असार २८ गते प्रतिस्पर्धाका आधारमा ६६७ वर्गमिटरको भवन भाडामा दिएको भेटिएको प्रतिवेदनमा उल्लेख छ । सम्झौता १० वर्षको हुने र उक्त भवनको मासिक भाडा बापत बैंकले पहिलो २ वर्षको लागि प्रतिमहिना २५ हजार रुपैयाँ तिर्ने रहेको छ । साथै प्रत्येक दुई वर्षमा मासिक भाडामा १० प्रतिशत थप गरी क्याम्पसलाई बुझाउने र विद्युत तथा पानीको लागतको बिल अनुसारको पैसा बैंकले तिर्ने सहमति भएको भेटिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, त्रिविबाट उपकुलपति कार्यालय अगाडिको १ हजार वर्ग फिट क्षेत्रफल रहेको जमिन त्रिवि कार्यकारी परिषदको विसं २०६५ साउन २७ गतेको निर्णयबाट सम्झौता गरी ग्लोबल आइएमई बैंकलाई भाडामा दिएको थियो । त्रिवि कार्यकारी परिषदको विसं २०६५ साउन २७ गतेको निर्णय बमोजिम ग्लोबल आइएमई बैंकलाई त्रिविको स्वामित्वमा रहेको १ हजार वर्ग फिट जग्गा उपलब्ध भएको र बैंकले भवन निर्माण गरी मासिक १५ हजार रुपैयाँ (कर कट्टी बाहेक) भाडा बुझाउने गरी १० वर्षका लागि विसं २०६५ असोज ५ गते त्रिविसँग सम्झौता गरेको थियो । साथै, विसं २०७५ जेठ १० गते बैंकसँग पुनः अर्को सम्झौता गरी उत्तर तर्फको तत्कालीन समयमा गोदामको रुपमा विश्वविद्यालय क्याम्पसले प्रयोग गरिरहेको ५ वटा सटरहरूमध्ये १ हजार ३५१.१३ वर्गफिटको ३ वटा सटर कवोल मासिक ४० हजार रुपैयाँ (कर कट्टीसहित ) र प्रत्येक २/२ वर्षमा १० प्रतिशतले वृद्धि हुने गरी विसं २०७५ भदौ ५ गतेदेखि लागू हुने गरी १० वर्षका लागि भाडामा दिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार भाडा रकममध्ये आधा रकम त्रिवि केन्द्रीय कार्यालयको निवृत्त भरण कोषमा जम्मा गराउने भनी कार्यकारी परिषदको विसं २०७५ वैशाख ३१ गतेको निर्णयबाट स्वीकृत भएकोमा पुनः कारणबस नयाँ स्थानमा बैंक सञ्चालन गर्न अवरोध भएकोले कार्यकारी परिषदको विसं २०७६ असोज १० गतेको निर्णयबाट पुनः साबिककै सम्झौताका अन्य सर्त बन्देज कायम हुने गरी विसं २०७६ असोज ३० गतेबाट पुनः १० वर्षका लागि भाडा रकम २८ हजार ५९० रुपैयाँ हुने गरी समायोजन भई मासिक भुक्तानी गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले समितिलाई दिएको जानकारी अनुसार सम्झौता बमोजिम निरन्तर बैंकिङ सेवा दिँदै आएको जनाएको छ । बैंकले त्रिविलाई नियमित रूपमा भाडा रकम बुझाउँदै आएको र त्रिविको कुनै गुनासो नआएको प्रतिवेदनमा उल्लेख छ । शिक्षामन्त्री महावीर पुनले सार्वजनिक गरेको प्रतिवेदन बैंकहरुले भाडामा लिएको स्थानका बारेमा कुनै उजुरी र गुनासो नआए पनि जिल्ला प्रशासन कार्यालयद्वारा निर्धारित भाडा दर र उक्त क्षेत्रमा प्रचलित भाडा दर बमोजिम पुनः मूल्याङ्कनका लागि निर्धारण गर्दा उपयुक्त हुने समितिको सुझाव छ । सरस्वती बहुमुखी क्याम्पसको दक्षिणतर्फ मुल गेटमा एक सटर बैंक कार्यको लागि दिएको भेटिएको छ । तर, कुन बैंकलाई दिएको हो भनेर उल्लेख गरिएको छैन ।
५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंककाअनुसार अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो । ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । अहिले कुल निक्षेप ७३ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालिन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।