पाँच कम्पनीका शेयर सूचीकृत, कुन कम्पनीको कति ?
काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जकाअनुसार एनसिसि बैंकको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । यस्तै जानकी फाइनान्स लिमिटेडको आठ लाख ८७ हजार ४६६ कित्ता शेयर लाभांश, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता शेयर लाभांश सूचीकृत भएको छ । स्टकका अनुसार बेस्टर्न डेभलपमेन्ट बैंकको सात लाख ४७ हजार ५६१ कित्ता शेयर लाभांश र मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । साताभर शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक १४.६५ विन्दुले घटेको छ । यस्तै यस साता एभरेष्ट बैंकको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । सो बैंकको एक अर्ब ९१ करोड ७६ लाख बराबरको कारोवार भयो । यस्तै दोस्रोमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ६२ लाख बराबरको कारोवार भएको छ । यस्तै प्रभु बैंक, सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, प्रभु बैंक लिमिटेको संस्थापक शेयर, नेपाल बैंक लिमिटेड र माछापुच्छ्रे बैंकको शेयर बढी कारोबार भयो । बजार पूँजीकरणमा भने नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ । सो संस्थाको एक खर्ब चार अर्ब २५ करोड बराबरको बजार पूँजीकरण रहेको छ । यस्तै नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसि एशिया बैंक, नेपाल एसबीआई बैंक र एनएमबी बैंक रहेका छन् । रासस
राष्ट्र बैंकले स्वीकृत गर्यो कार्यविधि, निर्यात अनुदानसम्बन्धी कार्यविधि कार्यान्वयनमा
काठमाडौँ । स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले ‘निर्यात अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । बैंकले निर्यात प्रवद्र्धन गरी व्यापारमा देखिएको असन्तुलनलाई कम गर्न उक्त निर्देशिका कार्यान्वयनमा ल्याएको हो । बैंकले कार्यविधिमा उल्लेख भएका प्रावधानलाई इजाजत प्राप्त ‘क’ वर्गका सबै वाणिज्य बैंकले पालना गर्नुपर्ने, वस्तु निर्यात तथा सोको भुक्तानी जुन बैंकबाट भएको हो सोही बैंकबाट मात्रै नगद प्रोत्साहन उपलब्ध गराउनु पर्नेछ । यस्तै, बैंक खातामा रकम जम्मा गर्दा निर्यातकर्ताको खातामा विदेशी मुद्रा जम्मा भएको दिनका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको परिवत्र्य विदेशी मुद्राको खरीद दरका आधारमा नेपाली रुपैयाँमा रुपान्तरण गरी सोही बराबरको नेपाली मुद्रामा प्रदान गर्ने व्यवस्था गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको निर्यातमा नगद अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५ ले तोकेको व्यवस्थाअनुसार उक्त व्यवस्था कार्यान्वयन हुने बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले जानकारी दिए ।
स्पर्श लघुवित्तलाई आईपीओ अनुमति, कस्ताे छ वित्तीय अवस्था ?
काठमाडौं । स्पर्श लघुवित्तले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । करिब ८ करोड ३० लाख चुक्ता पुँजी रहेको उक्त बैंकले पुँजीको ३२.५० प्रतिशतले हुने २ करोड ६९ लाख रुपैंया बराबरका २ लाख ६९ हजार कित्ता साधारण शेयर निष्कासन प्रस्ताव गरेकोमा शुक्रबार बोर्डले अन्तिम स्वीकृति प्रदान गरेको हो । अन्तिम अनुमति पाएसँगै लघुवित्तले केही दिनभित्रै शेयरको सार्वजनिक निष्कासनका लागि आह्वानपत्र जारी गर्नेछ । उसले यसअघि नै सानिमा क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । प्रचलित धितोपत्र निष्कासनसम्बन्धी व्यवस्थाअनुसार उक्त शेयर २६ हजार ९०० जनाले १० कित्ताका दरले प्राप्त गर्नेछन् । कस्तो छ लघुवित्तकाे वित्तीय अवस्था ? जनता बैंक मुख्य प्रवर्द्धक भएको स्पर्शले कास्की जिल्लामा मुख्य कार्यालय रही कास्की, म्याग्दी, अर्घाखाँची, गुल्मी, बागलुङ, लमजुङ, परासी, पर्वत, तनहुँ, र गोरखा गरी १० जिल्लामा २० शाखामार्फत् व्यवसाय सञ्चालन गर्दै आएको छ । पहिलो त्रैमासमा करिब ३१ लाख रुपैंया नोक्सानमा रहेको स्पर्श लघुवित्तले तीन महिनामै ३७ लाख रुपैंया आर्जन गरेर आफ्नो नाफा ६ लाख पुर्याएको छ । नाफामात्र नभएर लघुवित्तले पछिल्लो ३ महिनामा २८ लाख सिञ्चित कोषको नोक्सानलाई समेत ८ लाखले सकारात्मक बनाएको छ । ४७ करोड ५२ लाख ऋण र १० करोड २८ लाख सदस्यहरुबाट संकलन गरेको लघुवित्तले पुस मसान्तसम्म ५२ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । हाल ११.५९ प्रतिशतमा रहेको लघुवित्तको पुँजी पर्याप्तता अनुपात कसिलो देखिए पनि आईपीओ जारी गरिसकेपछि तत्काल पर्याप्त व्यवसाय गर्ने क्षमता विस्तार गर्नेछ । प्रचलित कानूनबमोजिम ३ करोड भन्दा कम आईपीओ जारी गर्नका लागि रेटिङको आवश्यकता नपर्ने भएकोले यसले रेटिङ भने लिएको छैन ।