वोमीको विशेष साधारण सभा सम्पन्न, हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौँ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ । विशेष साधारण सभाले संस्थाको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजारको शत प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि आवश्यक प्रक्रिया शुरु गर्ने प्रस्ताव पारित गरेको छ । उक्त विशेष साधारण सभाले संस्थाको सोही अनुरुप प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ । सभामा संस्थाकी अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधान तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले सम्बोधन गरेको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरमा लघुवित्त कार्यक्रम विस्तार गर्न स्वीकृति प्राप्त गरेको यस संस्थाको हाल ३२ जिल्लाका विभिन्न ४१ स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ ।

काठमाडौँ नयाँ बजारमा सिद्धार्थ बैंकको नयाँ शाखा

काठमाडौँ । सिद्धार्थ बैंकले सोमबार काठमाडौंको नयाँ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ, जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

६ महिनामा ३० अर्ब बीमा शुल्क संकलन, मुलुकभर १२ सय ७६ बीमा कार्यालय

काठमाडौ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा जीवन बीमा बापत ३० अर्ब ४६ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । बीमा समितिका अनुसार बैदेशिक रोजगार म्यादी बीमाबाट मात्रै पुस महिनासम्म १ अर्ब ४६ करोड ५ लाख रुपैया बीमा शुल्क संकलन भएको छ । हाल जीवन बीमा गर्ने कम्पनीको संख्या १९ वटा रहेको छ । जीवन बीमा क्षेत्रमा हालै महालक्ष्मी लाईफ इन्स्योरेन्स थपिएसँगै बीमा कम्पनीको संख्या १९ पुगेको हो । जीवन बीमातर्फ पुस मसान्तसम्ममा २६ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संकलन भएको छ । मंसिर मसान्तसम्म २६ अर्ब ५६ करोड ६८ लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्ममा जीवन बीमामा लगानी भएको रकम २ खर्ब ३८ अर्ब ४ करोड ९२ लाख रुपैयाँ रहेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक बर्षको ६ महिने तथ्याङ्क अनुसार बीमा कम्पनीका कार्यालय संख्या १२ सय ७६ रहेको छ । त्यसैगरी १९ वटै बीमा कम्पनीमा कार्यरत बीमक कर्मचारीको संख्या ४ हजार २ सय ४४ रहेको छ ।