पाँच लाख बढीको कारोबारमा प्यान अनिवार्य, ‘शेयर बजारलाई थप व्यवस्थित बनाइने’
काठमाडौँ । पाँच लाख रुपैयाँ भन्दा माथिको शेयर कारोवारमा आजदेखि स्थायी लेखा नम्बर (प्यान) लागू भएको छ । नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले आजदेखि धितोपत्रको कारोवारमा प्यान लागू गरेको हो । रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने प्यान लागू हुने छैन । धितोपत्रको दोस्रो बजारमार्फत कारोवार गर्नका लागि बोर्डले गत कात्तिक १२ गते आवश्यक निर्णय गरी कार्यान्वयनका लागि स्टकलाई निर्देशन दिएको थियो । सोही आधारमा लगानीकर्ताको सहजीकरणका लागि स्टकले स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेस्कसमेत खडा गरेको थियो । पछिल्लो पटक चैत १२ गते लगानीकर्ताको माग र सरोकार भएका निकायको ध्यानाकर्षणपछि रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने ऐच्छिक रुपमा मात्रै प्यान लागू हुने व्यवस्था गरिएको छ । शेयर बजारलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ प्यान लागू गरिएको स्टकले जनाएको छ ।
धादिङकोे गल्छीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर
काठमाडौँ । ग्लोबल आइएमई बैंक लि.ले मिति सोमबारदेखि धादिङ जिल्लाको गल्छी गाँउपालिका वडा नं ६, गल्छी स्थित करदाता सेवा कार्यालको भवनमामा एक्सटेन्सन काउण्टर शुरु गरेको छ । धादिङ्गको गल्छी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानीयबासीको बिस्तारित बैंकिङ्ग सेवाको चाहानालाई मध्यनजर गर्दै बैंकले खोलेको उक्त एक्सटेन्सन शुरु गरेको जनाएको छ । काउण्टरकोे उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् । उक्त एक्सटेन्सन काउण्टरले राजश्व संकलनका साथै अन्य बैंकिङ्ग सेवा समेत प्रदान गर्ने बैंकले जनाएको छ ।
एनआईबिएल एस क्यापिटलमा डिम्याट खाता निःशुल्क
काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल सरकारको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन नयाँबर्ष २०७६ बैशाख १ गतेदेखि सीमित अवधिका लागि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने भएको छ । एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंक लि. को पूर्ण स्वामितवमा रहेको नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त सहायक कम्पनी हो । यस अभियानबाट बिशेषतः पूँजीबजार भन्दाबाहिर रहेका गृहणी महिला, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाईदा पुग्ने र सर्वसाधारणहरुमा डिम्याट खाताको पहुँच बुद्धि हुने विश्वास समेत कम्पनीको रहेको छ । यो सुबिधा एनआईविएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट लगायत कम्पनीको लालदरवार, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र वुटवल स्थित शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिने जनाइएको छ ।