नेपाल लाइफले बोलायो साधारणसभा, बुक क्लोज १९ गते

काठमाडौं । एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण बनाउनुपर्ने बाध्यतापछि लामो समय अड्किएको नेपाल लाइफले आफ्नो १९ औं साधारणसभा बोलाएको छ । नेपाल लाइफ सञ्चालक समितिको बिहीबारको बैठकले जेठ ४ गतेका लागि साधारणसभा बोलाएको हो । उक्त सभा जेठ ४ गते शनिबारका दिन बीरगञ्जको होटेल दियालोमा बिहान साढे ९ बजे बस्नेगरी बोलाइएको हो । नेपाल लाईफ सञ्चालक समितिले यसअघि नै शेयरधनीहरुलाई ४८.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरिसकेको छ जसमध्ये २५ प्रतिशत बोनस शेयर तथा २३.५ प्रतिशत नगद लाभांश वितरण गरिनेछ । सो प्रस्तावलाई साधारणसभामा पेश गरी पारित गरिने एजेन्डा साधारणसभाको छ । त्यस्तै, एनएफआरएस प्रणालीअनुसार रिपोर्टिङ गरिएको आयव्यय, विवरण, वासलात, नाफानोक्सान हिसाब खाता तथा नगद प्रवाहसम्बन्धी विवरणहरु स्वीकृत गर्ने, संस्थापक समूहअन्तर्गत रिक्त सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरुको सेवा सुविधा परिमार्जन गर्ने तथा आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा समेत साधारणसभाको छ । नेपाल लाइफले आफ्नो अधिकृत पुँजीलाई पनि बढाएर १० अर्ब पुर्याउँदैछ । उक्त साधारणसभाका लागि नेपाल लाइफले बैशाख १९ गतेको लागि बुकक्लोजको मिति तोकेको छ । उक्त दिन शेयर स्वामित्वमा हुने व्यक्ति साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछ । याेसँगै आव २०७४/७५ काे साधारणसभा बाेलाउने भने नेपाल लाइफ दाेस्राे कम्पनी बनेकाे छ ।  यसअघि महालक्ष्मी लाइफले गत पुस २७ गते साधारणसभा गरेकाे थियाे । एलआईसी नेपालले गत चैत ४ गते र नेशनल लाइफ इन्स्योरेन्सले गत चैत १५ गते साधारणसभा बोलाइसकेकाे भए पनि त्याे आव २०७३/७४ काे थियाे । सञ्चालनमा रहेका १९ जीवनबीमा कम्पनीहरुमध्ये बाँकी १७ ओटाले भने साधारणसभा बोलाउन बाँकी छ । निर्जीवन बीमा कम्पनीतर्फ सानिमा इन्स्योरेन्सले मात्र साधारणसभा बोलाएको छ ।

सेञ्चुरीको वार्षिक साधारणः ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेशकुमार श्रेष्ठ, सुनिलकुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् । साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २५ बराबरको बोनस शेयर र ४.५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।

ओमको मेरो बचत खातामा स्मार्ट कार्ड सित्तैमा, बैंकले १०० रुपैयाँ जम्मा गरिदिने

काठमाडौँ । ओम डेभलपमेन्ट बैंक लिमिटेडले मेरो बचत खाता सञ्चालनमा ल्याएको छ । खोलौं खाता अभियान २०७६ अन्तर्गत बैंकले बैंक खाता नभएका ग्राहकहरुले खोलेको खातामा बैंकको तर्फबाट १०० रुपैंया जम्मा गरिदिनुका साथै पोखरा महानगरपालिका भित्र खाता खोल्ने ग्राहकहरुलाई महानगरपालिका भित्र चल्ने बस तथा अन्य सेवाहरुमा प्रयोग हुने स्मार्ट कार्ड समेत निशुल्क प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले खातामा निशुल्क चेक बुक, निशुल्क अन्तर शाखा कारोवार, निशुल्क बैंक स्टेटमेन्ट, निशुल्क आश्वा सेवा तथा कर्जामा पनि सहुलियतहरु प्रदान गर्ने जनाएको छ । बैंकले केहि दिन अघि पोखरा महानगरपालिका, स्थानीय बस ब्यवसायी समिती र एन क्लाउड प्रालिसंग स्मार्ट सिटी पोखरा कार्यक्रम अन्तर्गत महानगरमा चल्ने बसहरुमा स्मार्ट कार्ड राख्ने बिषयमा चारपक्षिय सम्झौता गरेको थियो । सम्झौता अन्तर्गत बैंकले बसहरुमा प्वाईट अफ सेल मेसिन जडान गरिदिने र ग्राहकहरुलाई निशुल्क स्मार्ट कार्ड बितरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।