नयाँ आर्थिक वर्षको दोश्रो दिन नै घट्यो नेप्से, ४१ करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ । बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २७३.८४ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता शेयर रु ४१ करोड १३ लाख ६९ हजार २९९ मूल्यमा खरीद बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । त्यसमा वित्त ३.०३, उत्पादन ५.३९ र लघुवित्त ०.१८ विन्दुले बढेको छ । यस्तै बैंकिङ १.३५, होटल २५.८८, विकास बैंक ४.३६, जलविद्युत् ७.५८, अन्य ०.७४, जीवन बीमा २७.६७ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकले रु पाँच करोड १७ लाख ६८ हजार ५०० बराबरको कारोवार गर्यो । यस्तै शिवम् सिमेन्ट रु दुई करोड ६१ लाख ५५ हजार ३६२, नेपाल लाइफ इन्स्योरेन्स रु दुई करोड ४५ लाख ९७ हजार १२, नेपाल बैंक लिमिटेड रु दुई करोड २८ लाख नौ हजार ६१५, प्रभु बैंक रु एक करोड ७९ लाख ६६ हजार ३३९ र एनआइसिएशिया बैंकको रु एक करोड ३० लाख ५१ हजार ८८४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले ९.२४, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.९४, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४.८९, दिव्येश्वरी हाइड्रो ४.२३ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६३ प्रतिशतले कमाए । त्यस्तै मेरा माइक्रोफाइनान्स वित्तीय संस्था ६.८१, नविल इक्विटी फण्ड ५.५७, एशियन लाइफ इन्स्योरेन्स ३.२९, ज्योति विकास बैंक २.९४ र पाँचथर पावर कम्पनीका शेयरधनीले २.८७ प्रतिशतले गुमाए ।
अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले बीमा समिति समक्ष लिए सपथ
काठमाडौ । निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्सको अध्यक्षमा चयन भएका आजाद श्रेष्ठले बीमा समिति समक्ष सपथ ग्रहण गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) कुमारबहादुर खत्रीका अनुसार बुधवार श्रेष्ठले अध्यक्ष पदको सपथ लिएका हुन् । अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, संस्थापक सेयरधनीतर्फ ४ जना सञ्चालक निर्वाचित
ग्लोबल आइएमई बैंक र तरकारी तथा फलफूल व्यवसायीबीच सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने उद्देश्यले तरकारी तथा फलफूल व्यवसायीहरुसँग आवधिक कृषि कर्जा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल थोक व्यवसायी संघका अमर बानियाँ तथा तरकारी फलफूल थोक बजार व्यवसायीक संस्थाका भरतप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा बोल्दै सहायक महाप्रबन्धक रेग्मीले विगत देखिनै ग्लोबल आइएमई बैंक र फलफूल व्यवसायीहरुबीच असल सम्बन्ध रहेको र यस सम्झौताबाट नेपाल बैंक थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायीकसंस्थाबीचको सामिप्यता अझ बढ्ने विश्वास व्यक्त गरे । उनले सम्झौतापछि संघ/संस्थामा आबद्घ व्यवसायीहरुले सस्तो, सरल तथा सूलभ ब्याज दरमा कृषि कर्जा प्राप्त गर्न सक्ने भएकोले व्यवसायीहरुलाई यसको भरपूर फाइदा लिन आग्रह गर्दै यसबाट फलफूल तथा तरकारी बजारको थप विकास एवम् बिस्तारमा टेवा पुग्ने धारणा राखे । सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थामा आबद्घ करिब ७०० फलफूल तथा तरकारी व्यवसायीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । बैंकले कृषि व्यवसाय तथा पेशामा संलग्न रहेका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले विगत देखि नै कृषि कर्जा प्रवाह गर्दै आइरहेको छ ।