आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । काउण्टरको आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा(पंगेनी)ले उद्घाटन गरे । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टरसुरु गरेको हो । महेन्द्रनगरमा एक्सटेन्सन काउण्टरको उद्घाटन सँगै बैंकको एक्सटेन्सन काउण्टरको संख्या २९ पुगेको बैंकले जनाएको छ । उक्त अवसरमा बोल्दै प्रमुख कर अधिकृत शर्माले बैंकले ग्राहकको सन्तुष्टीलाई मध्यनजर गरी उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । ग्लोबल आइएमई बैंक महेन्द्रनगर शाखाका शाखा प्रमुख दिपेन्द्रबहादुर सिंहले बैंकले सेवाग्राहीको हितलाई ध्यानमा राखेर काम गर्ने बताउँदै प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता समेत जनाए ।

पुँजीगत लाभकरका विषयमा अस्पष्टता नहटेसम्म राफसाफ नगर्ने लगानीकर्ताको चेतावनी

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरूले पुँजीगत लाभकरको अस्पष्टता नहटेसम्म राफसाफ नगर्ने भएका छन् । लगानीकर्ताहरूले हकप्रद र बोनस सेयरको भारित मूल्य गणना विधिको अस्पष्टता नहटेसम्म पुँजीगत लाभकर नतिर्ने चेतावनी दिएका हुन् । सेयर बजारमा कारोबार गर्दै आएका लगानीकर्ताको चारवटै संस्थाले यसको स्पष्टता नभएसम्म राफसाफ नगर्ने बताएका छन् । भारित औषत लागतको गणना गर्दा लगानीकर्ता आफैले लागत मूल्यको स्वःघोषणा गर्नु पर्ने सूचना जारी गरेसँगै लगानीकर्ताहरु आन्दोलित भएका हुन् । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने-नाफामा सरकारलाई कर तिर्ने हो,  ‘घाटामा तिर्ने होइन । हकप्रद तथा बोनस शेयरको खरिदमूल्य १०० रुपैंया मानेर त्यसमा पुँजीगत लाभकर उठाउने गरी लिएको सरकारी नीतिका विरुद्ध हामीले यो कदम चालेका हौं । उनले भने-‘हामीले राफसाफ रोकेपनि सेयर कारोबार भने गर्नेछौं ।’ भारित औषत लागत गणना गर्दा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएससी र लगानीकर्ताहरुले ‘कट अफ प्राइस’ का लागि कुनै एक दिनलाई आधार दिनको रुपमा मान्न सुझाएको थियो । यस विषयमा आन्तरिक राजस्व विभागले सहमति दिएको छैन । अहिले नेप्सेले सेयर मूल्यको समायोजन गर्छ । कम्पनीको तहमा मूल्य समायोजन गरेर आधार मूल्य निकालेर पुँजीगत लाभकर लगाउँदै आएको थियो । अहिले भने प्रत्येक लगानीकर्ताले नयाँ विधिअनुसार पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । सिडिएससीले आधार दिन तय नहुँदा पूँजीगत लाभकर गणना गर्न गाह्रो पर्ने सुझाव दिएको छ । सरकारले व्यक्तिगततर्फको पुँजीगत लाभकर घटाउनु र हकप्रद तथा बोनस शेयरको पुँजीगत लाभकर गणना गर्दा वेटेड एभरेज (भारित औसत) का आधारमा गणना गर्ने घोषणाको स्पष्टता व्यवसायीहरूले खोजेका हुन् ।

हेलिकप्टरबाट बैंकको सामाग्री ढुवानी, सामाग्रीको मूल्यभन्दा ढुवानीको मूल्य बढी

जाजरकोट । यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामाग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले बताएको छ । शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालताङ प्रभु बैंकको शाखा बिस्तार गर्न हेलिकोप्टर प्रयोग गरिएको हो । सामान सुर्खेतबाट जुफाल विमानस्थल र जुफालबाट सालताङ पुर्याइएको हो । सहज रुपमा यातायातका साधनमा ढुवानी गर्ने काम नभएपछि हेलिकोप्टर प्रयोग गरिएको हो । कर्णाली प्रदेश सरकारले डोल्पा मुड्केचुला गाउँपालिका–१ काशिलखोलामा राहत वितरण गर्नसमेत हेलिकोप्टरको प्रयोग भएको थियो । रासस