आशा लघुवित्त मर्जरमा जान तयार, तीन सदस्यीय कमिटी गठन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय क्षेत्रलाई सबल र सुदृढ बनाउनका निमित्त चालेको मर्जर तथा एक्विजिसन सम्बन्धी नीति बमोजिम आशा लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनका लागी बाटो खुल्ला गरेको छ । हालै बसेको संचालक समितिको बैठकबाट संस्थाका संचालक प्रदीपकुमार खड्काको संयोजकत्वमा संचालक सुसन शेरचन सदस्य तथा प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल सदस्य सचिव रहेको तीन सदस्य मर्जर कमिटी गठन गरेको हो । मर्जर कमिटी गठनसंगै प्रमुख कार्यकारी अधिकृत दुलालले अब अन्य लघुवित्त वित्तीय संस्थासंग तीब्र गतीमा मर्जर तथा एक्विजिसनको लागी छलफल अगाडि बढ्ने बताए ।
एनआईसी एशियाका ग्राहकलाई पोखराका विभिन्न होटलहरुमा ३० प्रतिशतसम्म छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र होटल पोखरा ग्राण्डी, पार्दी विरौटा, पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरे । यसैगरी एनआईसी एशिया बैंक र टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखराबीच बैंकका सम्पूर्ण ग्राहकलाई टीका रिसोर्टमा १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र टीका रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष टीका पौडेलले हस्ताक्षर गरेका हुन् । यो सम्झौताबाट पर्यटकीय शहर पोखरा भ्रमणका क्रममा यस बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
नेपाल बङ्गलादेश बैँकद्वारा रत्न पुस्तकालयलाई नगद १ लाख सहित पुस्तक हस्तान्तरण
काठमाडौँ । नेपाल बंगलादेश बैंकले नयाँबानेश्वर, काठमाडौँस्थित रत्न पुस्तकालयलाई १२हजार १७८ रुपैयाँ बराबरका विभिन्न साहित्यिक किताबहरु लगायत सोही पुस्तकालयद्वारा संचालित देवकोटा कोषका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सो रकम तथा किताबहरु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले पुस्तकालयका अध्यक्ष शशीबिक्रम राणालाई हस्तान्तरण गरेका हुन् ।