सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा उद्घाटन

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुला शाखाको बिहीबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंसराज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाबाट उद्घाटन भएको हो । समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट भाष्कर सिह लालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितीक दलका अध्यक्ष एवम् प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनिय सहभागिता रहेको थियो ।

ज्योति विकास बैंकले मनायो ११औं वार्षिकोत्सव, ‘हाम्रो सुरक्षित बचत खाता’ सञ्चालन

काठमाडौँ । ज्योति विकास बैंक साउन ९ गते स्थापनाको १२औं वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सव अवसरमा बैंकको सञ्चालक समिति सदस्य, कर्मचारी तथा ग्राहकवर्गको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा एक समारोह आयोजना गरी सो उत्सव मनाइएको हो । सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले समारोहको अध्यक्षता गरेका थिए । वार्षिकोत्सवको अवसरमा यसवर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको र १०० भन्दा बढी व्यक्तिले रक्तदान गरेको बैंकले जनाएको छ ।सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत इनेबल नेपाल संस्थालाई रु २ लाख सहयोग हस्तान्तरण पनि गरेको छ । उक्त रकम ३डि प्रिन्टेड प्रोस्थेटिक कृत्रिम हात निर्माण गरी हात नभएका १० बालबालिकामा जडान गर्नको लागि उपयोग गरिने जनाइएको छ । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा रु २ लाखको चेक इनेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरे । हाम्रो सुरक्षित बचत खाता सञ्चालन वार्षिकोत्सवकै अवसरमा बैंकले ‘हाम्रो सुरक्षित बचत खाता’ नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ। बचतसंगै ५ लाखसम्म दुर्घटना बीमा तथा १ लाखसम्म औषधि उपचार खर्च प्रदान गर्ने नयाँ बचत खाताले ग्राहकवर्गलाई थप सुविधा पुर्याउनेमा बैंकले विश्वास लिएको छ । सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । सञ्चालक समितिका अध्यक्ष खड्का र प्रमुख कार्यकारी ज्ञवालीले संयुक्त रुपमा पदक तथा कदरपत्र प्रदान गरेका हुन् । गत आर्थिक वर्षमा बैंकको व्यवसायका विभिन्न विधाहरुमा उत्कृष्ट ठहरिएका कर्मचारीहरुलाई पनि सोहि अवसरमा सम्मान गरियो । हाल बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा बैंकले जनाएको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट रु. २९. ५० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई रु. २५.५० अर्वभन्दा बढी लगानी गर्न सफल भएको छ । बैंकले हाम्रो बिकास बैंकलाई प्राप्ति गरेपश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुगेको जनाएको छ ।

मौद्रिक नीति आएको भोलिपल्ट सेयर बजारमा निराशा, सबै परिसूचक राताम्मे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आव २०७६/०७७ को मौद्रिक नीति ल्याएको भोलिपल्ट बिहीबार सेयर बजारमा निराशा छाएको छ । मौद्रिक नीति सार्वजनिक हुनु अघि बुधबार ६.९० अंकले बढेको सेयर बजार आज भने १४.१५ अंकले घटेको छ । १.१० प्रतिशतले परिसूचक घट्दा १२६९.९२ बिन्दुमा पुगेको छ । सेयर बजारमा आज १७१ कम्पनीका २१ लाख ९८ हजार १ सय २६ कित्ता सेयर किनबेच हुँदा ५५ करोड ५ लाख ३२ हजार १ सय ४६ रुपैयाँको कारोबार भएको छ । हिजोको तुलनामा परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । हिजो ४४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको थियो । आज नेप्से परिसूचकका सबै समूह राताम्मे भएका छन् । बैंकिङ समूह १२.५६, टेड्रिङ समूह २.६२, होटल समूह ३२.८४, विकास बैंक समूह १८.७६, जलविद्युत समूह २१.५४, वित्त समूह ३.८४, निर्जीवन बीमा समूह ८४.३५, उत्पादनमूलक समूह १५.४८, अन्य समूह ५.१४, लघुवित्त समूह १९.६८, जीवन बीमा समूह ५३.५४ र म्युचुअल फण्ड ०.११ अंकले घटेका छन् । ‘के जाति नीति हो सारै राम्रो आयो भन्थे, हो रहेछ । रातो कार्पेट माथि १४ तोपको सलामी ।’ समग्र बजारमा निराशा छाएको दिन नेपाल ल्यूब आयल लिमिटेडका सेयरधनीले भने सबैभन्दा बढी ८.८१ अंकले नाफा कमाएका छन् भने यूनियन हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी ९.५७ प्रतिशतले घाटा ब्यहोरेका छन् । मौद्रिक नीति आएको भोलिपल्ट सेयर बजारमा निराशा छाएपछि सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणीहरु देखिएका छन् ।यसैक्रममा ब्रोकर एशोसियनशनका सदस्य नरेन्द्र सिजापतिले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् -‘के जाति नीति हो सारै राम्रो आयो भन्थे, हो रहेछ । रातो कार्पेट माथि १४ तोपको सलामी ।’