अठार हजारभन्दा बढी पर्यटकले गरे कोशीटप्पुको अवलोकन

इनरुवा । अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७७३ जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७५÷७६ मा सो सङ्ख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् । गत आर्थिक वर्षमा आरक्षमा १८ हजार ३८५ नेपाली, ३६ सार्क मुलुकका र ३५२ विदेशी गरी कूल १८ हजार ७७३ पर्यटकले आरक्षको अवलोकन गरेको उनले जानकारी दिएका हुन् । आरक्षमा सबैभन्दा बढी कात्तिक महिनामा पर्यटकले अवलोकन गरेका छन् भने सबैभन्दा कम फागुन महिनामा पर्यटक आएको आरक्षको तथ्याङ्कले देखाएको छ । आरक्षमा कात्तिकमा दुई हजार सात सय चार जना पर्यटक आएका थिए । तीमध्ये दुई हजार ६६२ नेपाली, सात सार्क मुलुकका र ३५ जना विदेशी रहेका छन् । त्यस्तै फागुनमा महिनामा ८९६ जना पर्यटक आएको छ । तीमध्ये ८२९ नेपाली, तीन सार्क मुलुकका र ६४ जना विदेशी रहेका छन् । आरक्षमा विभिन्न किसिमका चराचुरुङ्गी, पुतली, अर्ना, हात्तीमा सवार गर्नका लागि पर्यटक आएको आरक्ष प्रशासनले जनाएको छ । रासस

लाभांश घोषणाको ६ महिनापछि सीआईटीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौँ । लाभांश घोषणाको ६ महिनापछि नागरिक लगानी कोष(सीआईटी)को २४ औँ वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सञ्चालक समितिको बैठकले कार्की ब्याङ्केट बबरमहलमा बिहान ११ः३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो । वार्षिक साधारण सभा प्रयोजनका लागि कोषको सेयरधनी दर्ता पुस्तिका सेयर दाखिला खारेज कार्य(बुक क्लोज) भदौ १९ गते एक दिन बन्द हुने जनाएको छ । सेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन भदौ १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई नियमानुसार दाखिला खारेजका लागि प्राप्त सेयरधनी सहित कायम रहेका सेयरधनीहरु साधारण सभामा सहभागी हुन पाउने छन् । साधारण सभाले कोषको आव २०७४/७५ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याइएको प्रस्तावित २२ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्नेछ । कम्पनी सञ्चालक समितिको बैठकले २०७५ फागुन २९ गते नै बोनस सेयर दिने घोषणा गरेको थियो ।

सहकारी मर्जर अभियन्ताकै पहलमा : मन्त्री अर्याल

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान सहकारी अभियन्ताहरूकै पहलमा मात्र सम्भव हुने बताईन । सहकारी संस्थाहरूको एकीकरण सम्बन्धमा नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताईन । मन्त्रालयले मर्जर अभियान थालेको बताउदै क्षेत्र, भेग, कामको प्रकृति मिल्ने सहकारीका बिचमा एकता गरिने मन्त्री अर्यालको भनाई छ । उनले सहकारी अभियन्ताहरूकै पहलमा सहकारी संस्थाहरूले मर्जर अभियान अगाडी बढ्न सक्ने विश्वास व्यक्त गरिन् । नेपालमा अब १०।१२ हजार सहकारी संस्था भए पुग्ने बताउदै मन्त्री अर्यालले उक्त संख्यामा सहकारी संस्था भएको खण्डमा देश हराभरा हुने र सरकारले सोचेको सम्बृद्धिको अभियान साथ मिल्ने विश्वास व्यक्त गरेकी छिन्। ती सहकारीको संख्या घटाउन मर्जरमा जानैपर्ने भन्दै मन्त्री अर्यालले तर यस अभियानमा सरकारले जर्बजस्ती मर्जरमा जाउ भन्न भने नसकिने जानकारी दिईन । सहकारी संस्थाहरुलाई माथिबाट तपाईहरु मर्जरमा जानुपर्छ भनेर घोक्रेठ्याक लगाएर हुँदैन, मिल्ने वाताबरण बनाउने हाम्रो काम हो । त्यो वाताबरण हामी बनाउँछौं, तपाईहरु आफैँ स्वतस्फुर्त रुपमा मिलेर पर्ने उनको भनाई छ । सहकारी संस्था पनि उत्पादनमा जानुपर्ने र बजारिकरणमा जान आवश्यक रहेको भन्दै उनले अबको ५ वर्षमा सहकारी क्षेत्रबाट अर्थतन्त्रमा १० प्रतिशत योगदान आवश्यक रहेको उल्लेख गर्दै सहकारी क्षेत्रबाट रोजगारी बढाउन पनि आवश्यक रहेको बताईन । अब सहकारीले उत्पादनमै जोड दिने हो । एउटा सहकारीले अनिवार्य रुपमा एउटा उद्योग, व्यवसाय गर्नुपर्छ । यसका लागि पनि सहकारीको मर्जर अभियान थालेका हौ । मर्जर अभियानलाई तिब्र ढंगले अगाडि बढाउन पर्नेमा जोड दिनुपर्ने मन्त्री अर्यालको भनाई छ । सहकारी अभियानमा केही संस्थाको बदमासीका कारण प्रश्नचिन्ह उठेको भन्दै उनले त्यही समस्यालाई समाधान गर्न कोपोमिस प्रणाली लागु गरिएको बताईन । मन्त्री अर्यालले भने, ‘कुन संस्थामा केछ भनेर हेर्न कोपोमिस प्रणाली लागू गरिएको छ । यो कसैलाई कारबाही गर्न होइन सुशासन कायम गर्न, पारदर्शी बनाउन यो सफ्टवेयर लागू गरेका हौ ।’ यसमा तपाईं अभियन्ताहरुले पनि सहयोग गर्नुपर्यो । को व्यक्तिले कुन संस्थामा बसेर कहाँ के गर्यो भन्ने कुरा हेर्न आवश्यक रहेको भन्दै त्यही बद्मायस व्यक्तिले फेरि अर्को ठाउँमा बसेर बदमासी नगरोस् भनेर सरकार र अभियन्ता सबै लाग्नुपर्ने बताईन।आजको आवश्यकता समृद्धिमा योगदान दिन सक्ने सहकारी संस्था भएको भन्दै धेरै मान्छेलाई रोजगारी दिने र आत्मनिर्भर बनाउने जिम्मेवारी अब सहकारीकै भएको बताईन ।