आइसीएफसी फाइनान्सले २ लाख कित्ता डिबेञ्चर निष्काशन गर्ने, ग्लोबल आइएमई बिक्री प्रबन्धक नियुक्त
काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडले २ लाख कित्ता डिबेञ्चर निष्काशन गर्ने भएको छ । डिबेञ्चर निष्काशन गर्न आइतबार ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ । २,००,००० कित्ता डिबेञ्चर प्रति कित्ता अंकित मूल्य रु.१,०००/-को दरले हुने कुल रकम रु.२०,००,००,०००/-(अक्षरेपी बीस करोड मात्र) निष्कासन तथा विक्री गर्ने सम्बन्धमा दुवै संस्था बीच सम्झौता सम्पन्न भएको हो । उक्त डिबेञ्चर ७(सात) वर्षका लागि वार्षिक १२ % ब्याजदरमा प्रत्येक ६/६ महिनामा ब्याज पाउने गरी निष्कासन गर्न लागिएको हो ।
अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंकबिच सम्झौता
काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वोस्ती र आईएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड(धरान प्रधान कार्यालय) बाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ । रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।
ग्लोबल आइएमईबाट साना तथा मझौला व्यवसायीले ३ दिनमै कर्जा पाउने
काठमाडौँ । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ३ दिन भित्र उपलब्ध गराउने भएको छ । ग्राहकलाई छिटो छरितो रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको जनाएको छ । अब उक्त कर्जा लिन चाहनेहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्र बिना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्तगर्न सक्ने छन् । आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु ५ लाखदेखि देखि रु ६ करोड सम्म ऋण उपलब्ध गराइने बैंकले जनाएको छ ।