नेपाल बैंक र एनविआईबीच सम्झौता सम्पन्न

काठमाडौं । नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनविआई ) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बालले गरेका हुन् । एनबीआईले नेपाल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौता भएको थियो । बैकिंग जनशक्ति विकासमा झण्डै १ दशकयता क्रियाशील एनविआई र नेपालको बैकिंग उद्योगमा अगुवा बैंकको रुपमा रहेको नेपाल बैंक लिमिटेडबीच भएको यस समझदारीबाट बैंकको मानव पुंजीलाई अझ बढी उत्पादनशील बनाउन योगदान पुग्ने अपेक्षा लिईएको छ । उक्त समारोहमा बैकको मानव श्रोत व्यवस्थापन विभागका प्रमुख दिपेन्द्र राज काफले र नेपाल बैक लिमिटेडका प्रेस संयोजक मुकुन्द अर्याल तथा एनविआईका वरिष्ठ अधिकृत दर्पण श्रेष्ठ लगायतको उपस्थिति थियो ।

नबिल बैंकबाट पैसा चाेर्दाचाेर्दै ५ चिनियाँ नागरिक पक्राउ, साथमा १ कराेड ३४ लाख नगद बरामद

काठमाडौँ । नविल बैंकबाट पैसा चाेर्दै गर्दा ५  जना चिनियाँ नागरिकलाई  नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरूकाे साथबाट १ कराेड ३६ लाख रूपैयाँ भन्दा बढी नगद समेत प्रहरीले पक्रेकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए । “शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ”, उनले बताए । पक्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।

सहकारी कर्जा सूचना केन्द्र छिट्टै, ३४ वटा सहकारी कानुन संशोधन गर्न माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका नवनियुक्त सचिव सुर्यप्रसाद गौतमले सहकारी कर्जा सूचना केन्द्र छिट्टै स्थापना गर्ने बताएका छन् । उनले कर्जा सूचना केन्द्रको अभावले सहकारीले समस्या भोगेकाले अब त्यसको समाधानमा क्रियाशिल हुने बताए । राष्ट्रिय सहकारी महासंघ लि.नेपालले सचिवको स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सचिव गौतमले कर्जा सूचना केन्द्र स्थापना महासंघ र मन्त्रालयको सहकार्य मा काम अगाडि बढ्ने बताएका हुन् । सहकारीमा सन्दर्भ ब्याज दर लागू भएदेखि नै सहकारीकर्मीहरुले कर्जा सूचना केन्द्रको माग गर्दै आएका छन् । सहकारी ऐन २०७४ मा पनि कर्जा सूचना केन्द्रको व्यवस्था गरिएको छ । ‘सहकारी नेपालको अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा हो । यसलाई उत्पादनसँग जोड्न, आधारभुत आवश्यकतासँग जोड्नका लागि ऐन कानुनहरु बाधा अड्चन छन् भने त्यसलाई संशोधन गराउनका लागि छलफल चलाइने छ’ उनले भने । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले विभिन्न ३४ वटा ऐन कानुन संशोधन गर्न सकेको खण्डमा सहकारी आधारभुत आवश्यकतादेखि उद्योग धन्दामा समेत जान सक्ने बताए । उनले सहकारीमा प्रयाप्त तालिम शिक्षाको अभाव भएकाले यसतर्फ मन्त्रालयको ध्यानआकर्षण गराए । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको भावी कार्यक्रम तथा योजनाको विषयमा जानकारी गराएकी थिइन । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवीमल्ल, संचालक तथा राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसी, संचालक तथा केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेम पाठक, नायव महाप्रबन्धक बाबुल खनालको उपस्थिति थियो ।