एलआईसी नेपालले मनायो १८औं वार्षिकोत्सव
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपालले) आइतबार स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । देशभर रहेको ७४ शाखा कार्यालयहरुमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । एलआईसी नेपालले सन् २००१ सेप्टेम्बर १ बाट आफ्नो व्यवसाय शुरु गरेको थियो । १८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत एलपी दासले एलआईसी नेपालको १८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै एलआईसी नेपाललाई उत्कृष्ट बीमक बनाउन कार्य गर्ने सवै अभिकर्ता, बजार प्रतिनिधि, एजेन्सी म्यानेजर, कर्मचारी, बीमित, शेयरधनी लगायत शुभेच्छुकहरुप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् । कम्पनीले आ.ब. २०७५÷७६ मा रु. १,३.४१ अर्ब कूल बीमाशुल्क आर्जन गरी रु. ५४.०१ अर्बको जीवन बीमा कोष निर्माण गर्न सफल भएको कम्पनी सचिव विनोदकुमार भुजेलले जनाएका छन् ।
मध्य बानेश्वरको प्रभु बैंकको शाखा नयाँबानेश्वरमा स्थानान्तरण
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १०, मध्य-बानेश्वर रहेको प्रभु बैंक लि.को शाखा कार्यालय वडा नं. ३१, नयाँ बानेश्वरमा स्थानान्तरण भदौ १५ गतेदेखि कारोबार शुरु गरिएको छ । उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका हुन् । नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट सो क्षेत्रका संघसंस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
१ करोड ६८ लाखमध्ये १ करोड ३६ लाख बरामद, ‘प्रहरीको सक्रियताले ठूलो क्षति रोकियो’
काठमाडौं । शनिबारको एटीएम ह्याकिङमा बैंकहरुलाई करिब ३२ लाख रुपैंया मात्रै क्षति भएको पाइएको छ । नेपाल राष्ट्र बैंकको प्रारम्भिक रिपोर्टमा एटीएम ह्याक गरेर १ करोड ६८ लाख रुपैंया निकालिएकोमा १ करोड ३६ लाख रुपैंया चिनियाँ नागरिकहरुबाट बरामद गरिएको भन्दै बाँकी ३२ लाख रुपैंया मात्रै क्षति भएको निष्कर्ष निस्किएको हो । सो रकम समेत कुनैपनि ग्राहकको खातामा डेबिट नभएको भन्दै त्यस्तो क्षति ग्राहकहरुलाई नपर्ने विश्वास बैंकर्स संघ र राष्ट्र बैंकले बैंकहरुलाई दिलाएको छ । नेपाल प्रहरीले नक्कली एटीएम प्रयोग गरी पैसा निकाल्ने कार्यमा संलग्न चिनियाँहरुलाई पक्राउ गरी सार्वजनिक गर्न नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघका प्रतिनिधिहरुसमेत उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनामा १४९ ओटा एटीएम प्रयोग भएकोमा १३२ ओटा एटीएम कार्ड नक्कली भएको र १७ ओटा एटीएम कार्ड उनीहरुको आफ्नै रहेको समेत महानगरीय प्रहरी परिसरका प्रवक्त उत्तमराज सुवेदीले जानकारी दिए । त्यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले प्रहरीको सक्रियताको कारण बैंकहरु ठूलो क्षतिबाट बच्न सफल भएको भन्दै प्रशरीको प्रयासको प्रशंसा समेत गरे । उनीहरुले पश्हरीको सक्रियतामा केही घण्टा ढिला भएको भए पनि बैंकहरुले ठूलो क्षति ब्यहोर्नुपर्ने तर्क गरे । कसरी भयो ह्याक ? कुनै बैंकले अर्को बैंकको एटीएम प्रयोग गरी पैसा निकाल्दा अर्को बैंकको खातामा भएको रकमको सूचना भिसा नेटवर्कमार्फत् हुन्छ, त्यो नेटवर्कले रकम सूचना प्रमाणित गरेपछि त्यो सूचना स्वीचमा जान्छ, स्वीचले सम्बन्धित बैंक आवश्यक रकम डेबिट गर्न पठाउँछ । तर यहाँ भिसाले सूचना प्रमाणित गरेपछि स्वीचमा पुग्नुअघि भएको प्रारम्भिक निष्कर्ष निष्किएको छ । त्यो कार्यका कसको संलग्नता थियो र भिसाले त्यो सूचना कसरी एप्रुभ गर्यो भन्ने चाहिँ फरेन्सिक अनुसान्धानपछि मात्रै थाहा हुने बताइएको छ । प्रारम्भिक रिपोर्टमा भिसाको नेटवर्क र नेप्स स्वीचको प्रयोग भएको पाइएको छ । प्रविधिमा यत्रो रिस्क छ, स्प्रेड घटाऊ मात्रै नभन्नुस् कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकिङ प्रणालीमा यति ठूलो जोखिम रहेको भन्दै बैंकहरुको नाफा मात्रै नहेरी जोखिमलाई हेर्न भन्दै राष्ट्र बैंकले स्प्रेडदर घटाउन दिएको दबावप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘तपाईहरुले देखिहाल्नुभयो बैंकिङ क्षेत्रमा कति ठूलो रिस्क छ भनेर, यहाँ राष्ट्र बैंकका कार्यकारी निर्देशक पनि हुनुहुन्छ, बैंकहरुलाई स्प्रेडदर घटाउ भनेर दवाव मात्रै दिनुभएन’ उनले भने ।