आशा लघुवित्तद्वारा एकै साथ दश शाखा कार्यालय विस्तार
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले एकै साथ दश वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । भदौ १२ गते एकैसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको हो । मोरङ्ग जिल्लाको धनपालथान गाउँपालिका, धनुषा जिल्लाको औरही र बट्टेश्वर गाउँपालिका, महोत्तरी जिल्लाको सोनमा गाउँपालिका, सर्लाही जिल्लाको चन्द्रनगर र रामनगर गाँउपालिका, रौतहट जिल्लाको गढीमाई नगरपालिका, नवलपरासी (पश्चिम) जिल्लाको सुस्ता गाउँपालिका, कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका र दाङ्ग जिल्लाको बबई गाउँपालिकामा शाखा स्थापना गरिएको हो । यी शाखा कार्यालयहरु थप भएसंगै वित्तीय संस्थाको ७ वटै प्रदेशको २९ जिल्लामा ५५ वटा शाखा कार्यालयहरु सञ्चालनमा आएको जनाइएको छ । विपन्न वर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्य लिई स्थापित वित्तीय संस्थाले ग्रामीण भेगमा वित्तीय पहुँच अभिवृद्धिका क्रममा शाखा कार्यालयहरु स्थापना गरेको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले जानकारी दिए । नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले ४६ हजार भन्दा बढी सदस्यहरुलाई समूहमा आवद्ध गराई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । रु. १ अर्ब ९७ करोड भन्दा वढी कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट करिब ५१ करोड भन्दा वढी निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत दुलालले बताए ।
सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले शर्मालार्ई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो । शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरिसकेको अनुभव रहेको छ ।
अशोक लेलैण्डका गाडी किन्दा सिर्जना फाइनान्सबाट ७० प्रतिशत कर्जा पाइने
काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जनाफाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुरुपआईएमईमोटर्सबाट सिफारिस पाएकाग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा सिर्जना फाइनान्स लिमिटेडबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने जनाइएको छ ।