१५ कम्पनीका पौने ३ लाख कित्ता शेयर लिलामीमा, घट्दो बजारमा सस्तोमा शेयर उठाउने अवसर

काठमाडौं । ग्लोबल आईएमई बैंक, नेपाल बैंक, साञ्जेन हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर लगायत १५ कम्पनीका करिब पौने ३ लाख कित्ता शेयरको बोलकबोल सुरु भएको छ । सिद्धार्थ क्यापिटले सञ्चालन गरेको सिद्धार्थ इक्विटी ओरियन्ट स्कीमको स्वामित्वमा रहेको १५ कम्पनीका २ लाख ७६ हजार ११ कित्ता शेयर र ३ ओटा म्युचुअल फण्डका २६ हजार ईकाईहरु बोलबकोल बढाबढमार्फत् बिक्रीका लागि लिलामीमा राखिएको हो । सो बिक्री सोमबारदेखि खुला भई भदौ २२ गतेसम्म खुला रहनेछ । उक्त लिलामीमा युनिर्भुल पावरको सर्वाधिक ६७ हजार ४८० कित्ता, ग्लोबल आईएमई बैंकको ६५ हजार ९७७ कित्ता, नेपाल बैंक लिमिटेडको ५३ हजार १०६ कित्तासहित नबिल बैंक, साञ्जेन र रसुवागढी हाइड्रोपावर, ओम डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स लगायतका शेयरहरु समेत समावेश छन् । उक्त लिलामीबाट आर्जित रकम फण्डले आफ्ना इकाईधनीहरुलाई फिर्ता गर्नेछ भने योसँगै उक्त स्कीम बन्द हुनेछ । यसअघि नबिल बैंकको नबिल ब्यालेन्स फण्डले समेत आफ्नो अवधि पूरा गरी रकम फिर्ता गरेको थियो । अहिले नेपाल शेयर बजार परिसूचक घट्दो क्रममा छ । सोसँगै सबैजसो कम्पनीको शेयरमूल्यमा समेत क्रमशः गिरावट आइरहेको छ । यो समयमा खुलेको लिलामीले लगानीकर्तालाई आफुले रोजेको कम्पनीको शेयर सस्तोमा छानीछानी किन्ने अवसर प्राप्त हुनेछ । सामान्यतया दोस्रो बजारको मूल्यभन्दा यस्तो लिलामीको कटअफ मूल्य कम हुने गरेको नजिर छ ।

बैंक अफ काठमाण्डूका सेयरधनीले १७ प्रतिशत लाभांश पाउने

काठमाडौँ । बैंक अफ काठमाण्डूले सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनी सचिव दीपक गौतमले जनाएका छन् ।

राष्ट्र बैंकले आठ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब ६५ करोड ५० लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये रु तीन अर्ब १३ करोड ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको टे«जरी बिल आगामी मङ्सिर १७ गते परिपक्व हुनेछ । यस्तै रु पाँच अर्ब ५२ करोड बराबरको ट्रेजरी बिल भने १८२ दिनमा परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । रासस